अमेरिकी सेनाको महँगो हेलिकप्टर उडाउन खोज्दा दुर्घटना, ३ तालिबानको मृत्यु (भिडिओ)

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : १७


काठमाडौं। गतवर्षको अगष्ट ३० मा सबै अमेरिकी सेनाले अफगानिस्तान छाडेका थिए।

तालिबान लडाकुले देशव्यापी आक्रमण सुरु गरेपछि अमेरिकी सेनाहरु त्यहाँबाट भाग्न बाध्य भएका थिए।

२० वर्षसम्म अमेरिकी सेनाले तालिबान लडाकुविरुद्धको अभियानमा तत्कालिन सरकारलाई सहयोग गरेको थियो। अमेरिकाले ठूलो लगानी गरेर सैन्य बेस पनि त्यहाँ खडा गरेको थियो।

तर गतवर्ष अमेरिकी सेनाहरुले अफगानिस्तान छाड्दै गर्दा त्यहाँ महँगा हेलिकप्टर, विमान तथा बख्तरबन्द गाडीहरु छाड्नु परेको थियो। अमेरिकी सेनाले यो पुष्टि गरेको थियो कि सबै विमानहरु निस्क्रिय पारिएका छन् र ती प्रयोग गर्न नमिल्ने बनाइएको छ।

यतिबेला तालिबान लडाकुले अमेरिकी सेनाले छाडेको एक हेलिकप्टर उडाउन खोज्दा त्यो दुर्घटनामा परेको छ। ३० मिलियन अमेरिकी डलर पर्ने ब्ल्याक हक हेलिकप्टर उडाउन खोज्दा दुर्घटनामा परेर तीन तालिबान लडाकुको मृत्यु भएको एनडीटीभीले जनाएको छ।

हेलिकप्टर दुर्घटनाको भिडिओ तथा फुटेजहरु पनि सार्वजनिक भएका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्