साना उद्योगी व्यवसायीको समस्यालाई महासंघले नसुनेकै हो त ?

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : ५९


काठमाण्डौँ । देशभरका उद्योग ब्यवसायको हक, हित र संरक्षणको लागि भनेर केन्द्रमा उद्योग बाणिज्य महासंघ रहेको छ । तर महासंघ ठुला र घराना ब्यवसायीका भरणपोषणमा लाग्दा साना ब्यवसायी सदैव मर्कामा परेको गुनासो देशभरबाट आउने गर्दछ । जिल्ला नगरकै साथबाट चुनाव जित्ने तर त्यसपछि भने जिल्ला नगरप्रति नेतृत्व अनुदार हुने प्रवृत्तिले यस्तो समस्या आउने गरेको ब्यवसायीले बताउँदै आएका छन्।

त्यति मात्र होइन वि सं २०७४ सालको स्थानीय निर्वाचनपछि आएका जनप्रतिनिधिले पनि उद्योग, ब्यवसायमैत्री नीति नबनाउँदा जसरी पालिकामा उद्योग ब्यवसाय फस्टाउनु पर्ने त्यो हुन सकेको छैन। अर्कोतर्फ ब्यवसायीहरु स्थानीय तहबाट उपेक्षित भइरहेको गुनासो पनि आइरहेको छ।

पहिलो स्थानीय कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि आएको एउटा अवस्था छ भने अर्कोतर्फ उद्योग बाणिज्य महासंको अब चुनाव पनि आउँदै छ । यस्तो अवस्थामा जिल्ला नगरका समस्या, चुनौति, सम्भावना, स्थानीय सरकारसंगको समन्वय र सहकार्य कस्तो छ? जिल्ला नगरलाई महासंघले कत्तिको प्राथमिकतामा राखेर काम गरिरहेको छ ? अब नीजि क्षेत्रको सबैभन्दा ठुलो संस्था उद्योग बाणिज्य महासंघलाई मुलुक विकासमा लगाउन कसले के गर्नुपर्ला लगायतका बिषयमा दैनिक अनलाइनले विशेष स्तम्भ सुरु गरेको छ। यसै सन्दर्भमा हामी प्रदेश १ को भोजपुर उद्योग बाणिज्य संघको अवस्था बुझ्दै छौँ।

भोजपुर उद्योग बाणिज्य संघको अवस्था

भोजपुरका उद्योगी व्यवसायीहरू संगठित भई वि सं २०३३ सालमा स्थापना भएको यस संघ २०५२ असार १३ गते भोजपुर जिल्ला प्रशासन कार्यालयमा भोजपुर व्यापार सङ्घको नामले स्थापना भएको थियो । त्यसपछि जिल्लामा उद्योगी व्यवसायी संगठित हुने क्रम सुरु भए पनि २०६७ सालपछि मात्र भोजपुर उद्योग वाणिज्य संघको भूमिका व्यापक बनेको देखिन्छ । अहिले संघमा १८ सय औद्योगिक र ब्यापारिक फर्महरु दर्ता भएका छन्।

संघ खुलेपछि अहिले त्यहाँ बिभिन्न क्रियाकलाप भइरहेका छन् । स्थानीय सरकार र जिल्ला प्रशासनसँग समन्वय, जिल्लाका उद्योगी व्यवसायीहरुलाई आयकर, मूल्य अभिबृद्धि कर अन्तशुल्क सम्बन्धी सचेतना कार्यक्रम संचालन, कर कार्यालय र उद्योग वाणिज्य संघको सहकार्यमा कर सम्बन्धी तालिम प्रदान, कृषि लघु उद्योग उत्पादनको प्रदर्शनीको लागि व्यापरिक मेला महोत्सव पनि भइरहेको छ ।

वास्तविक कृषिक र उद्यमीले स्थानीय तहको अनुदान पाउँदैनन्, दलका झोले कार्यकर्ताले अनुदान लैजान्छन्

आफूहरुको नीजि पहिलमा यी कार्य भइरहेको भए पनि स्थानीय तह र महासंघले संधैँउपेक्षा गरेको संघका अध्यक्ष कर्ण बहादुर मोक्तान बताउँछन्। उनका अनुसार भोजपुरमा अहिलेसम्म औद्योगिक ग्राम बन्न सकेको छैन भने ठुला खालका उद्योग ब्यवसाय खोल्न पनि स्थानीय सरकारले चासो दिएको छैन।

महासंघले बाणिज्य तथा आफूर्ति मन्त्रालयको सहकार्य र स्थानीय तहसंगको समन्वयमा कृषि उद्यम केन्द्र संचालन गर्ने कार्यक्रम तय गरे पनि भोजपुरमा केन्द्र संचालन हुन नसेकको उनले बताए। उनले भने ‘कृषि उद्यम केन्द्र संचालन गर्न सकेको भए यहाँ केही हुने थियो । तर संचालन हुन सकेको छैन । स्थानीय सरकारले मुखले आश्वासन दिए पनि बजेटमा सम्बोधन गर्दैन । पालिकाले पुल, खानेपानी, बाटो, स्कुलमा मात्र बजेट विनियोजन गर्दछ कृषि र उद्यममा छुट्याउन सक्दैन । वास्तविक किसान र उद्यमीले बजेट नपाएर स्थानीय झोले नेता कार्यकर्ताले मात्र बिभिन्न नाममा अनुदान पाउँछन् । किसान र ब्यवसायी यहाँ उपेक्षित छन् । स्थानीय स्तरमा उत्पादन हुने सामान्य सामान र सामाग्रीको बजारीकरण गर्न पनि स्थानीय तह अनुदार रहेको छ।’

उनले नेताका झोले कार्यकर्ताले कृषि ग्यान केन्द्र, कृषि आधुनिकीकरण, प्रधानमन्त्री स्वरोजगार लगायतका शीर्षकमा बोर्ड टाँगेर अनुदान लैजाने विकराल स्थिति पालिकामा रहेको बताए। पालिकाले ब्यवसायीबाट बिभिन्न शीर्षकमा कर लिए पनि त्यो अनुसार सुविधा दिन नसकेको बताए।

यति हुँदाहुँदै पनि आफूहरुले फर्म दर्ता, प्यानमा आवद्ध गराउनेको जनचेतनात्मक कार्यक्रम भने गरिरहेको सुनाए । उनले भोजपुरमा ठुला उद्योग विस्तार गर्न नसकेपनि पशुपालन, कृषि र पर्यटनमा रहेर लघ्ु उद्यम, हस्तकला, सानातिना डेरी, जडिबुटी प्रशोधन र प्याकेजिङ जस्ता उद्योग खोल्न सक्ने वातावरण रहेको बताउँदै यसको लागि महासंघ र स्थानीय तहले पहल गर्नु पर्ने मोक्तानले बताए । उनले भने ‘जिल्ला र गाउँ तहमा उद्योग खोल्ने, फलफुलको लागि शीत भण्डार केन्द्र बनाउने, बिचौलियाको विगविगी रोक्ने, तरकारी, फलफुलको लागि उर्वर भूमि बनाउन पहल गरेमा भोजपुरको विकासले फड्को मार्ने देखिन्छ ।’

भोजपुरमा औद्योगिक र ब्यवसायिक क्षेत्रको विका नहुनुमा स्थानीय तहको मात्र दोष नभएर महासंघको पनि दोष रहेको अध्यक्ष बताउँछन् । उनी भन्छन् ‘महासंघको गरिमा बढाउने जिल्ला नगर हो तर तर भइदिन्छ के भने एशोसियट, ठुलाठुला उद्योगी ब्यवसायीको मात्र हालिमुहाली हुन्छ । जिल्ला नगरका उद्योगीले भोट हालेर जिताउँछन् ।

तर त्यसपछि महासंघको नेतृत्व एशोसियटको पंजामा पर्छ । ससाना समस्यामा पनि महासंद्ध अनुदार हुँदा देशभरका धेरै ब्यवसायी साथीहरु मर्कामा परेका छौँ । अब जिल्ला नगरले नेतृत्व नगरेसम्म महासंघमा परिवर्तन आउन सक्दैन । अबको चुनावमा जिल्ला नगरकै नेतृत्व हुनुपर्दछ, एशोसियटकै कारण धेरै समस्या आए भनेर देशभर अभियान चलाउँदै छौँ । महासंघले स्थानीय तहलाई पनि उद्योगी र ब्यवसायी मैत्ती बन्नु भनेर खबरदारी गर्न सेकन । यसमा हाम्रो गुनासो छ ।’

चुनावको बेलामा उद्योगी नेता पैसामा बिक्छन्

अध्यक्ष मोक्तानले यसो हुनुको पछाडी अर्को कारण रहेको पनि बताए । ‘चुनावको बेलामा जिल्ला नगरको नेता पैसामा बिक्दा समस्या भएको हो । पैसामा साथीहरुले भोट बेच्ने कुराले जिल्ला नगर उपेक्षित हुनु परेको छ । यसैले पनि महासंघले जिल्ला नगरले हेप्छ । गत चुनावमा पनि जिल्ला नगरका विषयमा धेरै सम्बोधनका कुरा उठे तर आजसम्म आइपुग्दा ती सबै नारामा सिमिति भए’ उनले भने । कृषिमा आत्मनिर्भर नभएसम्म जिडिपी बढाउन नसकिने बताउँछदै देशभर कृषक समुह गठन गर्नु पर्ने, तथ्याङबारे राज्यलाई थाहा दिनु पर्ने, अन्न, फलफुल जडिब्टीलाई प्राथमिकता दिएर स्थानीय तहको सरकारसंग सहकार्य गरेर कृषि र पर्यटन उद्यमको बजारीकरण गर्ने नीति बनाएमा मुलुकको विकास हुने उनले बताए ।

संघमा महासचिव नविन प्रधानले संघको स्थापनापछि ब्यवसायीलाई संगठित हुन सजिलो भएको बताए । पहाडी र भर्खर सहरीकरण भएको जिल्ला भोजपुरमा विस्तारै उद्योग ब्यवसाय संचालन गर्ने, दर्ता गर्ने, राज्यलाई कर तिर्ने परिपाटीको विकास भइरहेको बताउँदै आफ्नै साना प्रकृतिका ब्यापार, पशुपालन संचालन गर्ने काम भइरहेको उनले जानकारी दिए । स्थानीय सरकारले सडक, यातायात, पुल, पुलेसा र विद्यालयका भवनमा खर्च गर्ने तर ब्यवसायिक हितका काम नगर्ने, ब्यवसायीलाई प्रोत्साहन नगर्ने, बजेट नछुट्याउने लगायतका काम नहुँदा ब्यवसायी रुष्ट भएको प्रधानले बताए ।

यति हुँदा हुँदै पनि जिल्लामा आफ्ना सदस्य तथा सर्वसाधारण नागरिकाका लागि विभिन्न किसिमका प्रशासनिक तथा सहजिकरणका सेवाहरु उपलब्ध गराउदै आएको संघका वरिष्ठ उपाध्यक्ष प्रविण कुमार सुवाल बताउँछन्। उनका अनुसार भोजपुर उद्योग वाणिज्य संघले जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी कार्यालय र संघसंस्थाहरुसँग समन्वय राखी आयमूलक रोजगारीमुलक र सीपमुलक कार्य गर्ने गराउने, उद्योगी तथा व्यापारीहरुलाई आवश्यक पर्ने व्यापारिक सूचनाहरु उपलब्ध गराउने, उद्योगी तथा व्यापारीहरुमा सद्भावना एवं नैतिकताको विकास गरी राष्ट्रियताको भावना विकसित गर्ने, समय अनुसार व्यापारिक सेवा तथा वस्तुहरुको मूल्य निर्धारण गरी सम्बन्धित निकायहरुमा उपलब्ध गराउने र कानुनद्वारा परिभाषित नाफाखोरी र कालोबजार नियन्त्रण गर्न सहयोग गर्ने लगायतका भूमिका खेल्दै आएको छ।

चुनौति

भोजपुर पहाडी क्षेत्र भएकोले ब्यवसाय गर्न र उद्योग खोल्न चुनौति रहेको उनले बताए। भौगोलिक समस्या, सडक र सबै ठाउँमा सडक र यातायातको पहुँचको अभाव, सबै पहाडी क्षेत्रमा महंगो श्रम, ढुवानीमा समस्या, लगानी गरेर फाइदा हुने स्थिति कम हुनु प्रमुख चुनौतिको रुपमा खडा भएको उनले बताए। उनले भने ‘यहाँ प्रशस्त पानीका श्रोत छन् तर खाने पानीको उद्योग छैन। बोतलको किनेर खानुपर्दछ । यस्तो स्थितिमा पनि पनि खोल्न महाथिल्लो स्तरबाटै नीतिगत पहल हुन सकेन। लगाइएका बालीनालीमा जंगली जनावरको रजाँई पनि भोजपुरको कृषि क्षेत्रमा देखिएको अर्को चुनौति रहेको’ महासचिव प्रधान बताउँछन्।

सम्भावना

भोजपुरमा मुखय गरी कृषि, पर्यटनकै प्रचुर सम्भावना छन। त्यहाँको कच्चा पदाथ, जल, जमिन, जडिबुर्टी संकलन र प्रशोधन गरी काम गर्न सके मुलुकको राजस्व वृद्धिमा थप टेवा पुग्ने ब्यवसायी बताउँछन्। जिल्लाका ऐतिहासिक पर्यटकीय, धार्मिक गन्तव्यहरूको प्रवद्र्धन नहुँदा पर्यटकीय विकास हुन सकेको छैन। सालल्पासिलिचुङ, मैयुङ हाँसपोखरी क्षेत्र, टेम्के–चखेवा भञ्ज्याङ, हतुवागढी दरबार क्षेत्र, दिंलाबजार, योगमायाको तपोभूमि मझुवाबेंसी, दुई सय वर्ष पुरानो टक्सारबजार, सिद्धकाली क्षेत्रलगायत जिल्लामा प्रसिद्ध छन् सिलिचुङ, टेम्के, मैयुङबाट सगरमाथा, मकालु कञ्चनजंघालगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्त अझ मनमोहक देखिन्छन्। गुराँस फुल्ने समयमा त्यहाँको छुट्टै आकर्षण छ। ‘हाइकिङ’ र ‘ट्राभलिङ’मा रमाउन चाहनेलाई गन्तव्यको खाँचो छैन तर राज्यको वेवास्ता र प्रचारप्रसार नहुँदा पर्यटकीय विकास हुन नसकेको ब्यवसायी बताउँछन्।
भोजपुर उद्योग बाणिज्य संघले यी क्षेत्रको प्रवद्धनको लागि पहल गरे पनि राजय उदासिन हुँदा पछि पर्नु परेको अध्यक्ष मोक्तान बताउँछन्। अबका नेतृत्वमा जिल्ला नगरलाई पुर्याउनको लागि देशभरका ब्यवसायी मिलेर एक स्वर बनाउनु पर्ने भोजपुरका अरु ब्यवसायीले बताए ।


प्रतिक्रिया दिनुहोस्