काठमाडौँ । कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐनलाई संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।
समिति सभापति जयपुरी घर्तीले समावेशी छात्रवृत्तिका नाममा विकृति बढेकाले यस्तो अनिवार्य व्यवस्था गरिएको बताइन्। ‘जुन व्यक्तिले छात्रवृत्ति पाउनुपर्ने हो त्यसले नपाएको गुनासाधेरै आएकाले कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा माध्यमिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ,’ उनले भनिन्।
‘पिछडिएको क्षेत्र कर्णाली भन्यो तर काठमाडौं बस्नेले कर्णाली नाम लेखेर छात्रवृत्ति लिने गरेको पाइयो। गरिब भनेर अरु नाम लेखेर लिने गरेको पाइयो। सरकारी भन्यो, प्राइभेट पढेकालाई कागज बनाएर छात्रवृत्ति दिने विकृति रहेकाले यो व्यवस्था गरिएको हो,’घर्तीले बताइन्।
विश्वविद्यलयका पदाधिकारीलाई ५१ प्रतिशत सदस्यहरुले हटाउन सक्ने व्यवस्था पनि गरिएको घर्तीले जानकारी दिइन्। समितिमा छलफलका क्रममा दुईतिहाईले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको उनले बताइन्।
समितिमा छलफलका क्रममा उच्च शिक्षा निःशुल्क गर्नुपर्ने संशोधन पनि परेको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले तीन वटा नयाँ विधेयक आउने जानकारी गराएपछि नयाँ विधेयकमा नै छलफल गर्नेगरी उक्त विषय समावेश गरिएनन्। दलित, अपाङ्गता भएका व्यक्ति तथा आथिृक रुपमा विपन्नलाई हरेक तहमा एकपटक छात्रवृत्ति दिने व्यवस्था गरिएको छ। यसअघि १ पटक मात्रै दिने व्यवस्था थियो।
अब उच्च शिक्षा मातृभाषामा अध्ययन गर्ने बाटो पनि खुला भएको छ। समितिले उच्च शिक्षामा मातृभाषामा पढ्न पाउने व्यवस्था गरेको हो। उच्च शिक्षा छाता ऐनमा नयाँ ढंगले छलफल गरेर जानुपर्ने भएकाले धेरे नेपाल ऐन संशोधन नगरिएको सभापति घर्तीले बताइन्।
-कान्तिपुर