अल्मुताइरीले दिए प्रमुख प्रशिक्षकबाट राजीनामा

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : ३३


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन। उनले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाएका हुन।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गरेका छन। नेपालको मुख्य प्रशिक्षक सम्हालेको पाँच सय २५ दिनपछि उनले राजीनामा दिएका हुन।

“नेपाली फुटबल सेवाको पाँच सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु”, उनले सामाजिक सञ्जालमा लेखेका छन।

एन्फाले २०७७ चैत २२ गते एक वर्षका लागि अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसपछि अलमुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षका लागि नयाँ सम्झौता भएको थियो। अलमुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनशिपको फाइनल खेलेको थियो। गत असोजमा माल्दिभ्समा भएको उक्त च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

यसैगरी नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरणसमेत खेलेको थियो। गत वैशाख १३ गते अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए।

अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडी बीचको विवाद समाधानका लागि एन्फाले छानबिन समितिसमेत गठन गरेको थियो।

अलमुताइरीको अनुपस्थितिमा एन्फाले केही समयअघि मात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

नेपालले आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशसँग उक्त मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। रासस


प्रतिक्रिया दिनुहोस्