एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले दियो बन्दको चेतावनी, आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ४ : ४८


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कन्युनिस्ट पार्टीले विवादको शिखरमा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा नेपाल बन्द गर्नेसम्मको चेतावनी दिएको छ । नेकपाले एमसीसी सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भण्डाफोर आन्दोलन गर्ने बताउँदै हाललाई पहिलो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाले माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका संघर्ष गर्ने जनाएको छ । बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसंघको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ । 

नेकपाले जनसघर्षका कार्यक्रमअन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बीर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी साँस्कृतिक कार्यक्रम गर्ने पनि जनाएको छ । 

नेकपाले सार्वजनिक गरेको १५ दिने कार्यक्रम तालिका

माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने
माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने
माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने

देशव्यापी जनसंघर्षका कार्यक्रम
माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन
माघ १६ गते सहिद दिवस मनाउने
मघ १८ गते महँगीविरुद्ध प्रदर्शन
माघ २० गते खुला सांस्कृतिक कार्यक्रम
माघ २५ गते देशव्यापी अन्तरक्रिया
 


प्रतिक्रिया दिनुहोस्