यू-१७ साफ च्याम्पियनसिपमा नेपालसँग हार्यो भारत

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : ४९


श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलम नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो।

समूह बी मा नै रहेको भूटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि भारतले पनि भूटानलाई पराजित गरेको थियो। नेपालको जीतमा सरोज दर्लामी, उनेश बूढाथोकी र सुवास बमले समान १/१ गोल गरे। खेलमा सुरुआती अग्रता भने भारतले लिएको थियो। खेलको २५औँ मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए।

भारतको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ४५ औँ मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हापसम्म १–१ गोलको बरबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो।

खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाए। यसैगरी खेलको ६८ औं मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३–१ गोलको जीत दिलाए।

यस जीतसँगै नेपालले शीर्ष ६ अङ्क जोडेको छ। नेपालले पहिलो खेलमा भूटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगितमा नेपालसहित भारत, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी छ राष्ट्र सहभागी छन्।


प्रतिक्रिया दिनुहोस्