कोरोनाबाट थप २ जनाको मृत्यु, १५२ संक्रमित थपिए

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : २८


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ९४ जनाको नमूना परीक्षण गरिएको थियो।

एक हजार एक सय ८६ जनाले पिसिआर र दुई हजार एक सय आठको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबिस घण्टामा एक सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार ८२ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १२ पुगेको छ। होम आइसोलेशनमा दुई हजार तीन सय ५९, संस्थागत आइसोलेसन ८९, आइसियू १८ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन्।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, दाङ, जाजरकोट, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला रहेका छन्।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४१, ललितपुर चार सय २१ र भक्तपुरमा ३२ सक्रिय सङक्रमित रहेका छन्। कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्