माडी जलाशययुक्त आयोजनाको सम्पर्क कार्यालय स्थापना

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  १० : १३


रोल्पा । माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय स्थापना भएको छ ।

१५६ मेगावाट क्षमताको आयोजनाको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको  छ ।

शुक्रबार विहान कार्यालय उद्घाटन भएसॅगै आयोजनाले स्थलगत सम्भाव्यता अध्ययन थालेको छ। माडी जलाशययुक्त आयोजना प्रदेश नं. ५ कै ठूलो जलविद्युत् आयोजना हुनेछ।

माडीमा चीन सरकारको स्वामित्व रहेको चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को लगानी हुनेछ।

चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणको क्रममा माडी जलाशययुक्त आयोजनामा चीन र नेपालका सरकारी स्वामित्वको दुई कम्पनीले लगानी गर्ने सम्झौता भएको थियो।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताउनुभयो। 

‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना सञ्चालन हुँदैछन् । यसमध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,’ मन्त्री पुनले भन्नुभयो।

उहाँले आयोजना समयमै निर्माण सम्पन्न हुने बताउनुभयो। ‘यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ । तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ’ ऊर्जामन्त्री पुनले भन्नुभयो, ‘पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ ।’

ऊर्जामन्त्री पुनले माडी जलाशययुक्त बहुवर्षीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिंचाई गर्न आयोजना सुरू हुने बताउनुभयो।

उहाँले जलाशययुक्त आयोजना निर्माणमा सहयोगको लागि स्थानीयसॅग अनुरोध गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताउनुभयो।

एचआइडीसियलका कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्