नयाँ प्रविधि पुस्तकको विकल्प होइनः मोदी

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ९ : ५१


नयाँ दिल्ली। सूचना र प्रविधि पुस्तकको विकल्प बन्न नसक्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ।

गुजरातको नवभारत साहित्य मन्दिरले भिडियो कन्फरेन्समार्फत अहमदाबादमा आयोजना गरेको पुस्तक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पुस्तक र पाठक शिक्षाका आधारभूत तत्त्व रहेको बताउनु भएको छ।

शिक्षाको आधारभूत तत्त्वको रूपमा पुस्तक र पाठ रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रविधि निस्सन्देह सूचनाको एक महत्त्वपूर्ण स्रोत हो तर पुस्तकको विकल्प होइन भन्नु भएको छ।

‘आज इन्टरनेटको जमानामा यो सोच प्रबल हुँदै गइरहेको छ। कुनै कुराको आवश्यकता पर्दा इन्टरनेटको सहारा लिनेछौं। प्रविधि हाम्रा लागि सूचनाको एक महत्वपूर्ण स्रोत हो तर यो पुस्तकहरू प्रतिस्थापन गर्ने माध्यम होइन’ मोदीले भन्नुभयो।

‘हामी स्वतन्त्रता सङ्ग्रामका बिर्सिएका कथाहरू पुनःस्मरण गर्न प्रतिबद्ध छौं र त्यसो गर्नमा पुस्तक मेलाहरूको आयोजनाले सधैं महत्त्वपूर्ण भूमिका खेल्न सक्छ’ उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले आफूले त्यहाँ ‘वाञ्चे गुजरात’ अभियान शुरु गरेको बताउनु भएको छ। उहाँले ‘कलम नो कार्निवल’ जस्ता अभियानले गुजरातको त्यो सङ्कल्पलाई अगाडि बढाउने बताउनु भयो। गुजरातमा पुस्तकालयहरूको धेरै पुरानो परम्परा रहेको उहाँको धारणा रहेको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ इन्डिया गेटमा ‘कर्तव्य पथ’को उद्घाटन गर्दै हुनुहुन्छ। प्रधानमन्त्री कार्यालय पीएमओद्वारा जारी विज्ञप्ति अनुसार यो कदमले सत्ताको प्रतीकको रूपमा रहेको राजपथबाट कर्तव्य पथमा परिवर्तनको प्रतीकलाई बुझाउँने छ।

‘यी कदमहरू अमृत कालमा नयाँ भारतका लागि प्रधानमन्त्रीको दोस्रो पञ्च प्राणसँग मिल्दोजुल्दा छन्स् औपनिवेशिक मानसिकताको सबै प्रकारको चिन्ह हटाउनुहोस्’ विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्