नरेशको कृषि मोहः विदेश त्यागेर खेतीपातीमा

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ८ : ५४


दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे। रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुग्नुभएका उनले तीन महिना भाषासमेत सिके। विदेश जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उनी गाउँ फर्किए। हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका छन।

सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ गरेका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन। उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरेका छन। उनको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पालेका छन। त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गरेका छन्। बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गरेका छन्। भटमास खेती र कागती खेती यसै वर्षदेखि सुरुआत गरेको उनले बताए।

सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उहाँ केही समय विदेशको चक्करमा लागे। “कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ”, उनले भने, “बीचमा विदेश जाने तयारीमा लागे। तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे।”

खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताए। “सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे”, उनले भने, “सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु। एक दिन पक्कै सफल भइन्छ।” दोधारा चाँदनीको सुन्दरनगरमा उनले एक बिघा जग्गा वार्षिक रु ५० हजार भाडा तिर्ने गरी कृषि कर्म गरिरहेका छन।

“दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो”, उनले भने, “तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ।” कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लाग्नुभएको छ । कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए।

“कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन । घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन ।” उनले भने, “सहकारीबाट रु २० हजार ऋण लिएर मैले सुरुआत गरेको हुँ।” कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताए।

कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनको बुझाइ छ। “बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ।” उनले भने, “नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो। हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन।”

खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउनुहुन्छ । कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उनले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे। “पाँच वर्षमा करिब रु १० लाख आम्दानी गरेको छु, कृषिबाट रामै्र आम्दानी हुन्छ ।” उनले भने, “स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताए। कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ । “एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु ।” उनले भने, “स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।” खड्काले दुई जनालाई रोजगारीसमेत दिएका छन। नेपालमा भनेको बेला कामदार नपाइँदा समस्या हुने गरेको उनले बताए। “यहाँ कामदार पाइँदैन, भारतबाट ल्याउँदा धेरै खर्च लाग्छ ।” उनले भने, “उत्पादनदेखि बजारसम्मका समस्या छन्, तैपनि लागिराखेकै छु ।”

कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताए। सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ। बीमामा किसानलाई सुविधा छैन। सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ । रासस


प्रतिक्रिया दिनुहोस्