म्यान्मारका जुन्ता शासकले सत्ता हत्याएयता पहिलोपटक भेटे रुसी राष्ट्रपति पुटिन

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ४ : २९


काठमाडौं। म्यान्मारका जुन्ता शासकले देशको सत्ता हातमा लिएयता पहिलोपटक रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेका छन्।

गतवर्ष फेब्रुअरीको सुरुवातमै म्यान्मारको सत्ता सेनाले हातमा लिएका थिए। म्यान्मारका सेनाको प्रमुख रहेका मिन अङ लाइङले यतिबेला सैन्य शासनको नेतृत्व गरिरहेका छन्।

रुसको पूर्वी शहर भ्लादिभोस्तोकमा आयोजना भएको इस्टर्न इकोनोमिक फोरम इइएफमा लाइङले पुटिनसँग भेट गरेका हुन्।

पुटिनले सो क्रममा म्यान्मारसँग आफ्नो सम्बन्ध सुमधुरु र सकरात्मक रुपमा विकास हुँदै गएको बताएका छन्।

यसअघि सत्ता हातमा लिनेबेला लाइङले एक वर्षपछि देशमा आम चुनाव गराएर चुनाव जित्ने पार्टीको हातमा सरकार छाड्ने बताएका थिए।

तर सेनाको उक्त प्रतिवद्धता पुरा भएन। बरु सेनाले लोकतान्त्रिक नेतृ नोबर पुरस्कार विजेता आङ साङ सुचीलाई देशदोह्र लगायत विभिन्न आरोप लगाउँदै १५ वर्षभन्दा बढीको सजाय सुनाइसकेको छ।

सुचीको पार्टी एनएलडीले चुनावमा धाँधली गरेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। लोकतन्त्रको अभ्यास राम्रोसँग कसरी गरिन्छ भनेर सैंन्य शासनकालबाट सिक्न सेनाले त्यहाँका पार्टीहरुलाई सुझाव दिएको थियो।

तर सैन्य शासनकालमा त्यहाँ सेनाको विरोध गर्न पाइँदैन। आन्दोलनमा जाने व्यक्तिहरुमाथि गोली चल्ने गरेको छ। अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्