ट्रम्पको घरबाट जफत गरिएका कागजात विदेशी राष्ट्रको परमाणु हतियार क्षमतासँग सम्बन्धित

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १ : ४५


न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले केही समय अगाडि छापा मारेको थियो।

ट्रम्पले सरकारी कागजातहरु अनधिकृत रुपमा आफूसँग राखेको र त्यस्ता सरकारी दस्तावेजको दुरुपयोग गरेको आरोप लागेको छ।

गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ।

वासिङ्टनपोस्टका अनुसार गत महिना ट्रम्पको घरबाट जफत गरिएका दस्ताबेजहरु विदेशी राष्ट्रको परमाणु हतियार क्षमता, रक्षा क्षमतासँग सम्बन्धित छ। गत अगष्ट ८ मा एफबीआईले ट्रम्पको घरबाट ११ हजार सरकारी कागजात तथा फोटोहरु फेला पारेको थियो।

खबरअनुसार कतिपय दस्तावेज अमेरिकी सुरक्षासँग सम्बन्धित छन्। जसको ट्रम्पले स्पष्टीकरण दिनुपर्नेछ। ट्रम्पले किन ती सरकारी आगजात आफूसँग राखे भन्नेबारेमा पनि केही बताइएको छैन।

ट्रम्प र उनका प्रतिनिधिले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्। यद्यपी यसअघि घरमा छापा हानिँदै गर्दा ट्रम्पले एफबीआईको कदम गलत भएको बताएका थिए।

‘मैले अवश्य सबै सरकारी निकायलाई अनुसन्धानमा सहयोग गरेको छु। यसरी मेरो घरमा अघोषित रुपमा छापा मार्नुको अर्थ थिएन। न्यायपालिकालाई आफू अनुकुल प्रभावित पार्न खोजिएको छ’ उनले छापा हानेको विषयमा भनेका थिए,‘मलाई सन् २०२४ को राष्ट्रपतिको निर्वाचनमा लड्नबाट बन्चित गर्न योजना बनाइएको छ।’


प्रतिक्रिया दिनुहोस्