च्याम्पियन्स लिगमा पीएसजी, रियल मड्रिड र म्यान्चेस्टर सिटीको विजयी सुरुवात

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : २३


काठमाडौँ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २–१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुवात गरेको हो।

पीएसजीको जितमा केलियन एमबाप्पेले दुबै गोल गरे।

जितसँगै पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ। समूहको अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गरेको छ।

यसैबीच च्याम्पियन्स लिगकै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जित हात पारेको छ।

सिटीले सेभियालाई ४–० ले हरायो। सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे। यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे। पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।

जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ। यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३–० ले हरायो।

उता साविक विजेता रियल मड्रिडले पनि युइएफए च्याम्पियन्स लिगमा सानदार विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा रियलले स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३–० को जित दर्ता गरेको हो।

रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे।

यो जितसँगै रियलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ। सेल्टिकले भने अंकको खाता खोल्न सकेको छैन। समूहकै अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले बुण्डेसलिगा क्लब आरबी लाइप्जिगलाई उसकै मैदानमा ४–१ को विजयी सुरुवात गरेको छ।


प्रतिक्रिया दिनुहोस्