सुपर लघुवित्तलाई राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : २२


काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थालाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभको लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले संस्थाको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणबाट संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

संस्थाको पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक रहेकाले सुपर लघुवित्तलाई २०७८/१२/०२ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकोमा संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ज) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकको सुपरिवेक्षण विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको ईजाजतपत्र प्राप्त संस्था हो । यस संस्थाको कार्यक्षेत्र प्रदेश न ५ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्