बलात्कारको आरोप पुष्टि भए क्रिकेटर सन्दीपलाई हुनेछ १२ वर्षसम्मको जेल सजाय!

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ००


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार बलात्कार गरेको अभियोगमा किटानी जाहेरी दर्ता भएको छ।

१७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको प्रहरीको भनाइ छ। बलात्कारको अभियोग लागेसँगै चर्चित क्रिकेटर लामिछाने अनुसन्धानको घेरामा तानिएका छन्।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै उनलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ।

मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा ‘३’ ‘घ’ मा पीडित १६ वर्षदेखि माथि १८ वर्षभन्दा कमभए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ।

पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको आरोप लगाएकी छिन्। त्यसअघि लामिछानेले आफूलाई नगरकोट लगेको पनि पीडितले बताएकी छन्।

प्रहरीका अनुसार हिजो मंगलबार नै थापाथलीस्थित प्रसूति गृहमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ।

बलात्कार भएको भनिएको स्थानको सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ। होटलका कर्मचारीसँग पनि यस विषयमा सोधपुछ भइरहेको छ।

हाल लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन्। लामिछाने र पीडित किशोरीबीच सामाजिक संजालमा भेट भएको थियो।

किशोरी लामिछानेको फ्यान भएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्