टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १२ : १७


काठमाडौं । टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्