सद्‌गुरुको ‘माटो जोगाऔँ’ अभियानमा नेपालकाे ऐक्यबद्धता

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : १०


काठमाडाैं । नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेसनका संस्थापक सद्गुरुले पाँच महिनाअघि सुरु गरेको ‘माटो जोगाऔँ’ अभियानमा ऐक्यबद्धता जनाएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा नेपालले सद्गुरुको उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै ३० हजार बिरुवा राेप्ने प्रतिबद्धता पनि जनाएको छ ।

नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले सो अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।

सो अवसरमा नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोलानालावरपर ३० हजार रुखका बिरुवा रोप्ने घोषणा गरे । मन्त्री यादवले सद्गुरुले १ सय दिन लगाएर ३० हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेकाले तीसै हजार रुखका बिरुवा रोपिने बताए ।

कार्यक्रममा सद्गुरुले वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई माटो बचाऔँ नीति पुस्तिका हस्तान्तरण गरे । पुस्तिकाले व्यावहारिक एवम् वैज्ञानिक समाधान प्रदान गर्नुका साथै सरकारले माटोको प्रकार, अक्षांश स्थानहरू र दिइएको राष्ट्रको कृषि परम्पराअनुसार लिन सक्ने कदमका बारेमा जानकारी प्रदान गर्छ ।

कार्यक्रममा सम्बोधन गर्दै सद्गुरुले हामी जानेर वा नजानी यस विनाशको एक हिस्सा भएको र अबको बाटो भनेको सबैले समाधानको एक हिस्सा बन्नु पर्नेमा जोड दिए । माटोको विनाशलाई सम्बोधन गर्न एकजुट हुन पनि सद्गुरुले सबैलाई आह्वान गरे ।

लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले स्रोताहरूलाई माटो बचाउने दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गरे । ‘कुनै पनि परिपक्व राष्ट्रका नागरिकहरू उठेर आफ्नो देशको दीर्घकालीन हित माग्ने बेला आएको छ । यदि सरकारहरूले राष्ट्रको दीर्घकालीन हितमा लगानी गर्ने हो भने तपाईंको आवाज उठ्नु अति आवश्यक छ । तपाईंको जिम्मेवारी भोट मात्र होइन, तपाईंको जिम्मेवारी तपाईंको आवाज पनि हो,’ सद्गुरुले भने ।

सामाजिक सञ्जालको अथाह शक्तिको चित्रण गर्दै उनले भने, ‘आज सौभाग्यवश प्रविधि र सामाजिक सञ्जालका कारण घरमै बसेर आवाज उठाउन सकिन्छ । यदि तपाईं साँच्चै प्रतिबद्ध हुनुहुन्छ भने तपाईंहरूमध्ये एक जनाले मात्रै सारा संसारमा घरमा बसेरै पहुँच पुर्‍याउन सक्नुहुन्छ ।’

सेभ सोइल अर्थात् माटो जोगाऔँ अभियान बेलायतबाट२१ मार्च २०२२ मा सुरु गरिएको हो । यो अभियानअन्तर्गत सद्गुरुले एक सय दिन लगाएर ३० हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेका थिए । सो अवसरमा सद्गुरुले माटो विनाशबारे विश्वभरी जनचेतना जगाउने र माटो जोगाउन विश्वको ध्यानाकर्षण गराएका थिए ।

इसा फाउन्डेसनका अनुसार यो अभियानले विश्वभरका झण्डै ४ अर्ब मानिसको समर्थन पाएको छ भने ८० राष्ट्रले माटो जोगाउन उचित कदम चाल्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्वस्तरमा राजनीतिक, व्यावसायिक, सामाजिक, पर्यावरणीय क्षेत्रका व्यक्तित्व तथा प्रसिद्ध कलाकारहरू, खेलकुदकर्मीहरू तथा नागरिकहरूको समर्थन र प्रोत्साहन रहेको यस महाअभियानलाई नेपालमा समेत भव्य साथ र समर्थनहरू प्राप्त भइरहेका छन् ।

अभियानअन्तर्गत नेपालका करिब १ सय शैक्षिक संस्थाहरूमा माटो जोगाउनुपर्ने जनचेतनामूलक कार्यक्रम गरियो । वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा नृत्य तथा साङ्गीतिक प्रस्तुति, विश्व वातावरण दिवसको अवसरमा ‘माटो जोगाऔँ’ भन्ने साइकल र्‍याली तथा ‘माटो र म’ संवाद कार्यक्रमसमेत सम्पन्न भइसकेका छन् ।

यस अभियानले हाम्रो माटो र धरती जोगाउनका लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्