रुसी तेल कम्पनीका मालिकको झ्यालबाट खसेर मृत्यु, गर्न थालियो विभिन्न आशंका!

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ०६


काठमाडौं। रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको छ।

बीबीसीका अनुसार कम्पनीले उनको मृत्युको पुष्टि गरेको छ। उनी ६७ वर्षका थिए।

रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा उनको उपचार भइरहेको थियो र उनको झ्यालबाट खसेर चोटपटकका कारण मृत्यु भएको छ।

रुसमा चर्चित व्यापारीहरूको रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो।

अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्।

समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। पछि उक्त समाचारसंस्थाले उनले आत्महत्या गरेको उल्लेख गर्‍यो।

रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। उसले पीडितहरूप्रति सहानुभूति पनि प्रकट गरेको थियो।


प्रतिक्रिया दिनुहोस्