रुसी सेनालाई जेलेन्स्कीको चेतावनीः युक्रेन छाडेर भाग या मर!

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : २१


काठमाडौं। युक्रेनले यतिबेला रुसी कब्जामा रहेको दक्षिणी युक्रेन क्षेत्रमा सशक्त आक्रमण थालेको छ।

खेरसन क्षेत्रमा बृहत सैन्य क्षमताका साथमा युक्रेनले रुसी सेनाविरुद्ध आक्रमण थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार राति चेतावनीपूर्ण भाषामा सन्देश छाडेका छन्।

उनले रुसी सेनालाई युक्रेन छाडेर भाग्न सल्लाह दिँदै यदी उनीहरुले युक्रेनी भूमि नछाडेको खण्डमा मृत्यु वरण गर्ने बताएका छन्।

‘यदी बाँच्ने चाहना छ भने रुसी सेनाहरु भागे हुन्छ। घर जाउ’ उनले भनेका छन्,‘युक्रेनले आफ्नो भूमि फिर्ता लिँदैछ।’

यद्यपी जवाफमा रुसी सरकारका प्रवक्ताले युक्रेनमा योजनाअनुसार नै सैन्य अभियान चलिरहेकाले आफ्नो उद्देश्य पुरा हुने बताएका छन्।

रुसले गत फेब्रुअरी २४ यता लगातार आक्रमण थालेको छ। आक्रमण सुरु भएको ६ महिना पुरा हुँदा पनि युक्रेन रुससँग झुक्न मानेको छैन।

अमेरिका लगायत पश्चिमा राष्ट्रले हतियार सहयोग गरिरहँदा यतिबेलासम्म युक्रेनले रुसको सामना गरिरहेको छ। पछिल्लो समय त युक्रेनले रुसी सेनाहरुलाई धेरै स्थानबाट लखेट्न पनि सफल भएको छ।

रुसले सन् २०१४ मै कब्जा गरेको क्राइमियामै पनि युक्रेनले आक्रमण गर्न थालेको छ। हालै क्राइमियाको रुसे सैन्य बेसमा क्षेप्यास्त्रहरु प्रहार भएका थिए। अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्