‘मपाइँ प्रवृत्ति’ जसले पतनको दिशातर्फ डोर्‍याउनेछ!

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १२ : ४९


सविन राई

काठमाडौं। काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा जब स्वतन्त्र उम्मेदवारहरुले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन मतपरिणाममा अग्रता कायम गरिरहेका थिए तब नेपालभरका मानिसहरु खुशी भएका थिए।

त्यसको मुख्य कारण थियो जनताहरु राजनीतिक पार्टीको कार्यशैलीबाट आजित भइसकेका थिए। राजसंस्थाको अन्त्यसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको विश्वास गरिएको थियो। तर देशका मुक्तिदाता ठानिएका राजनीतिक पार्टीबाट अहिलेसम्म त्यस्तो कुनै उपलब्धि देख्न सकिएन।

बरु भ्रष्टाचार मौलायो, कानुनीराजको घाँटी निमोठिएको आभास भयो, महँगी बढेको बढ्यै, देशमा कुनै प्रणाली स्थापित हुन सकेन र मानिसहरु विदेश हानिन बाध्य भइरहेका छन्।

राजनीतिक पार्टी, त्यसमा आवद्ध नेताहरुले विकास गर्नसक्दैनन्, उनीहरु देश बनाउन लायकका छैनन् भन्ने आभास भएपछि त्यसकै विद्रोह स्वरुप काठमाडौं महानगरमा बालेन शाह जन्मिए भने धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई।

उनीहरु भारी मतसहित मेयर बन्दा देशभर खुशी छाएको थियो किनभने राजनीतिक पार्टीको सिन्डिकेट तोडिएको थियो। उनीहरुको जित राजनीतिक पार्टीलाई अब त ‘राम्रो काम गर्नैपर्छ’ भन्ने सन्देश पनि हो।

तर यतिबेला भने यी स्वतन्त्र मेयरहरुमा ‘मपाइँ प्रवृत्ति’ मौलाएको प्रस्ट हुन्छ। अझ भनौं हर्क साम्पाङमा यो प्रवृत्ति अलिबढी हाबी भएको देख्न सकिन्छ।

हालै धरान उपमहानगरपालिकाका मेयर हर्क काठमाडौंमा चार दिने भ्रमणका लागि आइपुगेका थिए। काठमाडौं ओर्लनासाथ उनले भनेका थिए,‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्यो। प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’

यहाँसम्म त ठिकै थियो किनभने जहाँको भएता पनि फोहोर व्यवस्थापन हुनुपर्छ। तर समस्या त्यहाँबाट सिर्जना भयो जब उनले काठमाडौंका मेयर बालेनको क्षमतामाथि प्रश्न ठड्याउन थाले।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले बालेनसँग राम्रो काम गर्ने इच्छाशक्ति नभएको उल्लेख गरे। उनले बालेनलाई नै इंगित गर्दै फेसबुक पोस्टमा भनेका छन्,‘नाथे समस्या, बल होइन बुद्धि लगाऔँ, नाथे समस्या, विवेक र सहास चाहिन्छ।’

हर्कले यस क्रममा फेरि आफू काठमाडौं गएकाले मात्र त्यहाँको फोहोर उठन सकेको भन्दै भद्दा अभिव्यक्ति दिए। बालेनले पनि जवाफमा हर्कको व्यंग्य गर्दै उनकै लौरो चिन्हले आफू काठमाडौंको मेयर बनेको उल्लेख गरे।

बालेको प्रतिक्रियाले भड्किएका हर्कले आफ्नो भनाइलाई मिलाउन खोज्दै अर्को पोस्टमा भनेका छन्,‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा।’ यतिबेला त हर्कले बालेनलाई धेरै फुइँ नलगाऊसम्म भन्न भ्याएका छन्। ‘फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा। फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है। हावा गफ होइन काम चाहिएको छ जनतालाई’ उनले भनेका छन्।

हर्कले काठमाडौंको फोहोरको समस्याबारे नबुझी बालेनको व्यंग्य गर्नु उचित कार्य हुँदै होइन। बालेन वास्तवमा मेयर बनेको पहिलो दिनदेखि नै काठमाडौंको फोहोर दिर्घकालिन रुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागि परेका छन्।

बालेनले बारम्बार कुहिने फोहोरलाई मल बनाउने र नकुहिनले फोहोरलाई व्यवस्थित गर्ने बताउँदै आएका छन्। तत्कालका फोहोरलाई व्यवस्थित गर्न भने काठमाडौं महानगरलाई ज्यादै अप्ठेरो भइरहेको अवस्था छ किनभने बन्चरेडाँडाका नागरिकहरुले दैनिक अवरोध खडा गरिरहेका छन्। यही कारण हो यतिबेला काठमाडौंमा फोहोरको थुप्रो जथाभावी देखिएका छन्।

यसबीचमा बालेनविरुद्ध हर्कका हरेक अभिव्यक्ति हेर्दा उनमा ‘मपाइँ प्रवृत्ति’ ज्यादै मौलाएको देखिन्छ जुन उनको छविको लागि राम्रो विषय हुँदै होइन। यतिबेला उनकै समर्थकले उनलाई धेरै घमण्ड नगर्न सुझाव दिइरहेका छन्। उसो त बिहीबार मात्र ग्यालेक्सी फोर के टेलिभिजनमा धरानमा पनि फोहोरको समस्या भएको र फोहोरले स्थानीयहरु बिरामी पर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ।

यसरी आफ्नो क्षेत्रको समस्या नदेखेर हर्कले बालेनको क्षमतामाथि प्रश्न गर्नु त्यो उनको लागि हानिकारक छ। आफूमात्र जान्ने अरु सबै बेकारको सम्झिनुले हर्कलाई पतनको दिशातर्फ डोर्याउनेछ। किनभने मानिसहरु धेरै घमण्ड गर्ने व्यक्तिलाई धेरैबेर विश्वास गर्दैनन्। बरु उनले बालेनलाई राम्रो र सभ्य भाषामा सुझाव दिनसक्थे। त्यसो भएको भए उनी आलोचित नै बन्दैन थिए।

मै मात्र जान्ने, मै हुँ राम्रो भन्ने प्रवृत्तिबाट निस्किए यो सबैको लागि फाइदाको विषय हुनेछ। उसो त बालेनमा पनि ‘मपाइँ प्रवृत्ति’ देखिने गरेको काठमाडौंका वडाध्यक्षहरुको भनाइ छ। बालेनले बैठकमा एकल निर्णय गर्न खोज्ने, उनी धेरै मन्त्रालय धाउने तर वडाध्यक्षहरुलाई त्यसबारे जानकारी नदिने गरेको उनीहरुको भनाइ छ।

राजनीतिक पार्टी र पुराना नेताहरुबाट आजित भएका नेपाली जनताले यी दुई स्वतन्त्र मेयरबाट उदाहरणीय काम भएको हेर्न चाहन्छन्। जनताहरु पुरानै नेताको जस्तो प्रवृत्ति स्वतन्त्र मेयरहरुमा देख्न चाहँदैनन्। त्यसकारण उनीहरु एकले–अर्कालाई सिध्याउने खेलमा लाग्नु हुँदैन। अंग्रेजीमा एउटा भनाइ छ ‘एक्सन स्पिक्स लाउडर द्यान वर्ड्स’ अर्थात् चुपचाप विकासको काममा लागे त्यसले नै उनीहरुको क्षमताको परिचय दिनेछ।


प्रतिक्रिया दिनुहोस्