तिरेको करको रेकर्डै गायब, सकसमा साना ब्यवसायी !

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ५ : २६


चन्द्रकान्त न्यौपाने । 

नेपालको आन्तरिक राजस्व कार्यालयको सिस्टममा ठुलो भ्वाङ, तिरेको कर नै हुन्छ वेपत्ता

तपाई एकैछिन् कल्पना गर्नुहोस् त तपाईको कुनै एउटा ब्यवसायिक फर्म छ अर्थात् प्राइभेट लिमिटेड कम्पनी छ । त्यो फर्म तपाईँले करिब १८ २० बर्षअघि दर्ता गर्नुभएको थियो । दर्ता बर्षदेखि तपाईले निरन्तर रुपमा कम्पनीको आय कर तिर्दै आउनु भएको छ । तर अहिले एक्कासी आएर तपाईँले यति बर्षको कर तिर्नुभएको रहेछनछ । तपाईको कर ड्यूज देखियो । हाम्रो रेकर्डमा भेटिएन भनेर राजस्वका कर्मचारीले भने भने तपाईले के सोँच्नु हुन्छ होला ? तपाईलाई कस्तो लाग्ला ? पक्कै पनि चकित हुनुहुने छ । त्यो तपाईको कल्पनाभन्दा बाहिरको भएको महसुस गर्नुहुने छ । तर यो कल्पना मात्र नभएर सत्य सावित भएको छ ।

आजभन्दा २० बर्षअघि दर्ता भएर निरन्तर राजस्व बुझाउँदै आएका  ब्यवसायीले अहिले ठ्याक्कै यस्तो समस्या झेलिरहेका खुलेको छ । यसले नेपालको अर्थ र राजस्व प्रशासनमा कतिसम्म लापरबाही रहेछ भन्ने कुराको उदाङ्गो एकातर्फबाट पारेको छ भने अर्कोतर्फ सिस्टम र कर्मचारीतन्त्रमा अझै पनि कति ठुलो भ्वाङ छ भन्ने कुराको पुष्टि गरेको छ ।

यस्तो छ ब्यवसायीले झेलेको दुख

काभ्रेको धुलिखेलमा ब्यापार गर्दै आएका राजिव प्रकाश खोजुले वि सं २०५८ सालमा एएनबी ट्रेडर्स नामको ब्यवसायिक फर्म दर्ता गरे । उनले ३००९०५०७२ पान नम्बरमा ५८ सालदेखि नै नियमित रुपमा आयकर तिर्दै आएका छन् । तर आजभोलि आन्तरिक राजस्व कार्यालयका कर्मचारीले खोजुलाई ‘तपाईको आयकर तिर्न बाँकी रहेको देखियो । पहिला त्यो ड्यूज तिर्नुहोस् । यो भएन भने समस्या हुन सक्छ भनेर भनिरहन्छन् ।’ आन्तरिक राजस्व कार्यालयमा काम परेर जाँदा हरेक पटक यो खराब रेकर्डको सामाना उनलै अचेल गरिरहनु परेको छ । त्यसपछि अहिले उनको नीद्रा हराम नै भएको छ ।

आफूले फर्म दर्ता गरेको मिति ५८ सालबाटै कर तिरेको भन्दै धुलिखेल उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहेका उनले कार्यालयमा गएर कति सालदेखिको ड्यूज रहेछ भनेर बु्झे । त्यसपछि उनले थाहा पाए ५९ देखि ६२ सालसम्म गरी ४ बर्षको आयकर तिर्न तिर्न बाँकी छ भनेर । त्यसपछि कार्यालयमा गएर कर्मचारीसंग उनले फेरि भने “मैले ५८ सालदेखि नै कर तिर्दै आएको भन्दै प्रश्न गरे एउटा फर्मले एकै बर्षमा २ पटक कर तिर्नु पर्ने हो ? कहाँबाट आयो यस्तो कानुन ?” यो सुनिसकेपछि कर्मचारीले ५९ देखि ६३ सम्म कर तिरेको हो भने तिरेको रसिद ल्याउनु भनेर मागे । तर खोजुसंग आजभन्दा २० बर्ष अघिको रसिद छैन ।

उनले कर्मचारीलाई भनेछन् ‘रसिद छैन । त्यहीँ कम्यूटर या ढड्डामा हेर्नु न कर तिरे नतिरकेको भेटिइहाल्छ नि ।’ कुराकानी चर्को हुन थालेपछि कर्मचारीले पनि सो फर्मले कर तिरको छ या छैन भनेर हेरेछन्, खोजेछन् तर अहिलेसम्म भेटिएको छैन । यो विषयमा कर्मचारी र ब्यवसायीमा जुहारी चलेको १ बर्ष भयो न त कोजुले आफूले कर तिरको रिसद भेट्याउँछन् नत कर्मचारीको रेकर्डमा प्रमाण भेटिन्छ । खोजु मात्रै होइन धुलिखेलकै अनुप रेष्टुरेन्टका संचालक अरुण चित्रकार पनि यही समस्यामा परेका छन् । जसका कारण उनीहरुले बिभिन्न समस्या झेल्नु परिहेको छ । यस्तो समस्यामा धुलीखेलका अरु साना ब्यापारी पनि रहेको भेटिएको छ ।

कर तिरेको रेकर्डै गायब, तर फर्म हरेक बर्ष नविकरण

रोचक कुरा त के छ भने खोजुुले आयकर तिरेको कुनै प्रमाण भेटिन्न तर उनले कर चुक्ताको प्रमाणपत्र भने ६४ सालदेखि नै हरेक बर्ष पाइरहेका छन् । उनको फर्म हरेक बर्ष नविकरण भइरहेको छ । जब कि कर चुक्ता प्रमाणपत्र नपाइकन कुनै पनि संस्था नविकरण हुँदैन । यो कानुनी ब्यवस्था नै हो । नविकरण गर्नको लागि अनिवार्य रुपमा अघिल्लो बर्षको कर तिरेकै हुनुपर्दछ । कोजु पनि प्रश्न गर्दछन् जब कि ५८ देखि ६३ सम्म मैले मेरो फर्मको कर तिरको प्रमाण छैन भने किन मेरो संस्था नविकरण भइरहेको छ ? मैले करचुक्ता प्रमाण पत्र कसरी पाएँ ?

यो मेरो दोष होइन, कर्मचारीको दोष हो

खोजुुलेअर्को प्रश्न गर्दै भने “यो विषयमा मलाई ६३ ६४ मा नै जानकारी नगराएर बल्ल किन गराइयो ? यो कर्मचारी तन्त्रमा देखिएको लापरबाही हो । कि कर्मचारीले हामीबाट पैसा लिएर रेकर्ड नराखेको हुनुपर्दछ कि हाम्रो तिरोको कम्प्युटरमा इन्ट्रि नभएको हुनुपर्दछ या कार्यालयबाट ढड्डाहरु हराएको हुनुपर्दछ ।” उनले थर्पे यो मेरो दोष होइन, कर्मचारीको दोष हो । मैले त्यो अवधिको रहेको भनिएको करको पैसा एक रुपैयाँ पनि तिर्दैन । हामीले मिनाहा पाउनु पर्दछ । होइन भने ब्यवसायीले यो कर्मचारीको लापरबाहीबारे चर्को रुपमा उठ्छौँ ।’

खोजु भन्छन् ‘यो मेरो मात्र समस्या होइन धेरै ब्यवसायीको समस्या हो । यो समस्या देशभरको हो । रामेछापको मन्थली उद्योग बाणिज्य संघमा पनि यस्ता धेरै समस्या भएको ब्यवसायी साथीहरुले हामीलाई सुनाइरहनु भएको छ । अब यसको समाधान हुनुपर्दछ ।’ उनले यो विषयमा धुलिखेल उद्योग बाणिज्य संघ र कर कार्यालयमा जानकारी गराए पनि १ बर्षसम्म त्यसै अड्केर बसेको बताए । यस्तो खराब रेकर्डले आफ्नो ३ पुस्तासम्म असर गर्ने भन्दै तुरुन्त समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।

उपाध्यक्षको त यो हालत छ भने सामान्य ब्यवसायीको हालत के होला ?

उपाध्यक्षको त यो हालत छ भने सामान्य बयवसायी कुन समस्यामा होलान् ? यस घटनाबाटै सहजै अनुमान गर्न सकिन्छ । के यसैलार्ई टेकेर कतै कुनै कर अधिकारीले ब्यवसायीलाई धाकधम्की र डर त्रास देखाउँदै आर्थिक लाभ लिन नसक्लान् भन्न त सकिन्न । कर प्रशासनमा यो एउटा सानो छिद्र हो । तर यसले ठ्ुलै अफ्ट्यारो सिर्जना गर्न सक्छ ।

यो विषय थाहा पाइसकेपछि दैनिक अनलाइनको टोली आन्तरिक राजस्व कार्यालय काभ्रेप्लानचोकमै गएर बुझ्ने प्रयास गर्यो । कार्यालयका कर परीक्षण तथा अनुसन्धान शाखाका नायब सुब्बा तुलसी कुमार मल्लले यस्तो समस्या अरु ब्यवसायीबाट आएको स्विकार गरे । उनले भने ‘यो समस्याको रुपमा आएको छ । उहाँहरुले फर्मको आयकर तिरेको भन्नुहुन्छ । हामीले प्रमाण मागेको छौँ । दिन सक्नुहुन्न । खोज्दा हाम्रो रेकर्डमा भेटिन्न । ढड्डामा पनि देखिन्न । कम्युटरमा पनि भेटिन्न ।’

उनले थपे ‘आफूले कर तिरेपछि फेरि भेरीफाइ गर्नु पर्ने हो तर उहाँअरुले कर तिरेँ भनेर ढुक्क भएर जानु भयो तर त्यसको भेरिफाई गर्नुभएन । सायद त्यसो गर्नुहुन्थ्यो भने यहाँ रेकर्ड भेटिन सक्थ्यो । रेकर्ड छुटेको हुन सक्छ । या त ढड्डाबाट कम्युटरमा इन्ट्रि गर्न विर्सिएको हुन सक्छ ।’

२० बर्ष अघिको रेकर्ड गायब, उल्टो भेरिफाई नगरेको आरोप

यस्तो समस्या हो भने उहाँहरुले किन कर चुक्ताको प्रमाण पत्र पाउनु भयो ? ६३ सालसम्म आयकर नतिरेको फर्मको नवीकरण कसरी भयो त ? भन्ने दैनिक अनलाइनको प्रश्नमा उनले भने “बिभिन्न समयमा कर छुट लगायतका अफरहरु राजस्व विभागबाट आइरहेका हुन्छन् त्यसैमा पर्नुभयो कि ? हामीले कर चुक्ता प्रमाण पत्र अघिल्लो बर्षको रेकर्डलाई हेरेर दिने गछौँ । उहाँहरुको अहिलेको रेकर्डमा कर तिरको देखिन्छ । त्यसरी कर चुक्ता पाउनु भएको हुन सक्छ । अहिले राजस्व र कर तिरे नतिरेको हेर्न मिल्ने सफ्टवेर आएको छ । यो प्रविधि लागु भएको २ बर्ष भयो । यसअघि प्रविधि थिएन । २० बर्ष अघिको समस्या न हामीले देख्यौँ न उहाँहरुले जान्न खोज्नु भयो । त्यसकारण समस्या अहिले आएर देखियो ।”मल्लले आफ्नै परिवारमा पनि यस्तो समस्या भएको भन्दै प्रमाण सुरक्षित हुँदा समस्या झेल्नु नपरेको सुनाए ।

तुलसी कुमार मल्ल,नायब सुब्बा, कर परीक्षण तथा अनुसन्धान  शाखा

त्यसपछि फेरि दैनिक अनलाइनको टोली यो समस्या के हो ? भनेर आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कमल बहादुर राजलवटको कार्यालयमा पुग्यो । उनले यो समस्या देशब्यापी रहेको हुन सक्ने सुनाए ।

उनले भने ‘करदाता हाम्रो भगवान हुन् । उहाँहरुकै कारण हामी बाँचेका छौँ । उहाँहरुले दुख पाउनु हुँदैन । यो समस्या कार्यालयमा आएको छ । तर न ब्यवसायीले कर तिरेको भेटिन्छ न हाम्रो रेकर्डमा भेटिन्छ । आजभन्दा १८ २० बर्ष अगाडीको समस्या भएको हुनाले दुवैतर्फको कमजोरी रहेको देखिन्छ ।’

अब यो समस्या कसरी समाधान हुन्छ ?

ब्यवसायीले एकपटक तिरेको कर फेरि तिर्दैनौँ भनेका छन् । यस्तो अवस्थामा यो समस्या कसरी समाधान होला ? उहाँहरुको कर मिनाहा हुन्छ त अब ? कर प्रमुख राजवलट थप्छन् ‘अब यो समस्या हामीले समाधान गर्न सक्दैनौँ । हामीले गर्ने सहजीकरण हो । आफ्नो निर्णय लिन सक्दैनौँ । माथिबाट जे पलिसी बनेको छ । त्यसैको आधारमा हामीले गर्नुपर्दछ । हामीले उहाँहरुको कर मिनाहा गर्न मिल्दैन । तिर्नै परे जरिवानासहित तिर्नुपर्ने हुन सक्छ । छुट दिने कुरा माथिल्लो तहबाटै निर्णय हुनुपर्दछ ।’

कमल बहादुर राजलवट,  प्रमुख कर अधिकृत आन्तरिक राजस्व कार्यालय काभ्रे

उनले यो विषय पुरानो भएकाले नीतिगत तवरबाट हल हुनुपर्ने बताए । यस्तो समस्या देशब्यापी भएको उनको स्विकारोक्ति छ । आफ्नो कार्यालयमा अहिले प्रविधिमा काम भइरहेको भन्दै अब यस्ता समस्या नआउने बताए । कार्यालयमा अझै पनि भनेजति कर्मचारी दरबन्दी नरहेका कारण चुस्त प्रशासनिक कार्यको लागि पर्याप्त कर्मचारी आवश्यक रहेको उनले बताए ।

यो समस्या आन्तरिक राजस्व विभागका महानिर्देशकसम्म पुर्याइसकेको ब्यवसायीले बताउँछन् । उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले यो समस्या विभागसम्म पुर्याउन पहल गरिरहेको पीडित खोजुले सुनाए ।

जनताको करबाटै तलव खाने कर्मचारी तिनै सेवाग्राहीप्रति गैर जिम्मेवार

यता आन्तरिक राजस्व विभागमा पनि यो समस्या पुगिसकेको छ । विभागका निर्देशक तथा सूचना अधिकारी राजु प्रसाद प्याकुरेले यो समस्याको बारेमा छलफल हुने बताए । उनले चाँडै यस विषयमा ब्यवसायी र सरकारी निकायका सम्बन्धित ब्यक्ति बसेर आवश्यक निर्णय लिइने बताए । पछि जुनसुकै समस्या आउने भएकोले सेवाग्राहीले आफूले तिरको कर या सरकारी कामकाजका कुनै पनि प्रमाण सुरक्षित राख्नु पर्ने बताउँदै सेवाग्राहीको पनि कमजोरी रहेको उनको भनाई छ ।

विभागले देशैभरमा यस्तो समस्या रहेको पाइए चाँडै समाधानको बाटो खोजिने बताएको छ । यता पीडित ब्यवसायी व्यवसायी भन्छन् ‘विभागले यो समस्यालाई सामान्य रुपमा लिइदिन्छ । तर यसको विकराल रुप छ । देशभरी यस्तो समस्या छ । यसले हामीलाई तिन पुस्तासम्म असर गर्छ । त्यसैले चाँडो समाधान हुनुपर्दछ भन्ने हाम्रो माग हो ।’ देशभरका साना ब्यवसायीले पटकपटक सरकारी निकायबाट आफूहरुले अनाहकमा दुख र सास्ती पाइरहेको गुनासो गर्ने गर्दछन् ।

यो दृष्टान्तबाट के प्रमाणित हुन्छ भने नेपालको आर्थिक प्रशासनिक क्षेत्रमा अझै पनि थुप्रै कमजोरी, समस्या र लापरबाही छन्, जनताको करबाट आउने तलव खाने कर्मचारी तिनै सेवाग्राहीप्रति जिम्मेवार छैनन् । सेवाग्राहीसंग धेरै पुरानो रेकर्ड हराउन सक्छ तर उनीहरुको आवश्यक रेकर्ड सरकारी तथ्याङ्कमा हराउनु भनेको गम्भिर लापरबाही रहेको आर्थिक प्रशासनिक क्षेत्रका जानकार बताउँछन् । यो राजस्व फाँटमा देखिएको एउटा समस्या हो भने सरकारी कामकाज हुने हरेक ठाउँमा यस्ता समस्याको चाङ रहेको छ भन्ने अनुमान गर्न सकिन्छ यस घटनाबाट ।


प्रतिक्रिया दिनुहोस्