नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ५ : ०२


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी÷व्यवसायीबीचको अन्तक्र्रियालाई सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्षसमेत रहनुभएका ढकालले नेपालको जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो ।

उहाँले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताउनुभयो । “हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौँ । भारत, चीन, युरोपेली सङ्घ र आंशिकरूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाएका छन्”, उहाँले भन्नुभयो ।

उहाँले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गर्नुभयो ।

“यस भ्रमण दलका प्रतिनिधिबाट नयाँस्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रयास गरौँ । सबै सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौँ”, उहाँले भन्नुभयो, “नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ । भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तक्र्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो ।

ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एकअर्काको फाइदा लिनसक्ने बताउनुभयो । “नेपाली निजी क्षेत्र सधैँ झैँ भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ । हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्