कलामार्फत गाईको अस्तित्वको चिन्ता गर्दै कलाकार सिंह

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : ४८


गण्डकी । पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीमा लस्करै गाईका विभिन्न स्वरुप कलात्मक रुपमा सजाइएका छन्।

गाईजात्रा एवं कृष्ण जन्माष्टमीको अवसरमा एकेडेमी र विश्व हिन्दू युवा सङ्घको सयुंक्त आयोजनामा विश्व कलायात्री नगेन सिंहको ११ औँ एकल चित्रकला प्रदर्शनीमा ‘गाई’ शीर्षकमा २१ चित्र राखिएका छन्। सङ्कटमा पर्दै गएको गाईको अस्तित्वलाई त्यहाँ चित्रण गरिएको छ।

प्रदर्शनीमा आउने जो कोहीलाई पनि ती चित्रहरुले भावुक बनाउँछ। कलामध्ये एकमा हाम्रो पूर्वी दर्शनअनुसार गाईलाई विशेषत तिहारमा सेतो ढाप लगाउने प्रचलनलाई सङ्केत गरेको छ। गाईको त्यो सेता ढब्बा समाजमा बढ्दै गएको हेलाभावका कारण रातो बन्दै गएको कलाकारले देखाउन खोजेका छन्।

त्यस्तै अर्को कलामा उल्टो इन्द्रेणीजस्तो बनाएर राष्ट्रिय जनावर गाईको अस्तित्व सङ्कटमा पारिएको चित्रण गरिएको छ। प्रत्येक कलामा धरापमा पर्दै गएको गाईको अस्त्विलाई प्रस्तुत गरिएको छ।

पूर्वीय संस्कृतिअनुसार गाईको दूधदेखि गहुँत गोबर सबै अत्यावश्यक मान्निछन्। मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म गाईको दूध दही, गहुँत, गोबर आवश्यक भए पनि गाईको संरक्षण व्यक्ति व्यक्ति हुँदै समाज र राष्ट्रको प्राथमिकतामा पर्न नसकेको कलाकार सिंह बताउनुहुन्छ।

विश्व हिन्दू महासङ्घका सल्लाहकार एवं पूर्ववरिष्ठ उपाध्यक्ष वेदनिधि शर्मा गाई शीर्षकको कला प्रदर्शनीले हिन्दू धर्मको संरक्षणमा टेवा पुग्नुका साथै गाईको महत्वलाई थप उजागर गर्ने धारणा राख्नुहुन्छ। हिन्दू धर्ममा आमाको रुपमा पूजा गरिने गाईलाई जीवित देवीका रुपमा लिने गरिएको छ। प्रत्येक वर्ष लक्ष्मीपूजामा त गाईलाई पूजा गर्नुका सौ विभिन्न परिकार खुवाउने प्रचलन छ। शुद्धाशुद्धीमा समेत गाईकै गोवरले घर पोत्ने, गहुँत छर्किएर चोख्याउने प्रचलन छ।

आयुर्वेद विज्ञानले गाईको दूध, गहुँत तथा गोबरमा विभिन्न औषधीय गुण हुने पत्ता लगाइसकेको छ भने हिन्दू संस्कृतिमा जीवनको अन्त्यावस्थामा गाईदान गर्ने तथा बैतर्णी गरेमा स्वर्गलोक प्राप्त हुने जनविश्वास छ ।

कृषि प्रणालीमा पनि गाईको उत्तिकै महत्व देखिन्छ । परम्परागत कृषि प्रणालीमा जोतनका लागि गाईको बाच्छोलाई गोरु बनाउनुका साथै गाईको मलको प्रयोगले कृषि उत्पादनका लागि बढी उत्पादन बढाउने मानिन्छ ।

प्राचीनकालमा ऋषिमुनिहले आफ्ना योगाभ्यास, ध्यान तथा तपस्याका लागि स्वस्थ हुनका लागि गाईको दूध तथा गहुँतको शेवन गर्ने किंवदन्ती छ। प्रदर्शनीकै अर्को एक कलामा आफ्नो बाच्छालाई दूध चुसाउँदै गरेको गाई आगामी दिनको गन्तव्य र अस्तित्व के हुने हो त्यसको अन्यौलतामा रुमल्लिएको देखाइएको छ।

हाम्रा संस्कार एवं संस्कृतिसँगै कृषि प्रणालीमा जोडिएको गाईका यिनै महत्वलाई उजागर गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यका साथ गाई शीर्षकको कला प्रदर्शनी गरिएको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताउनुभयो।

“प्रदर्शनीमा आउने प्रत्येकले कला हेरिसकेपछि अस्तित्व सङ्कटमा पर्दै गएको गाईबारे एकपटक सोच्न बाध्य बन्नुभएको छ”, उहाँले भन्नुभयो, “गाईजात्रा एवं कृष्ण जन्माष्टमीका अवसर पारी गरिएको यो प्रदर्शनीले गाईको संरक्षणमा केही न केही सचेतना जगाउने र योगदान पु¥याउने अपेक्षा गरेका छौँ ।”

गाई शीर्षकमा सिंहले गर्नुभएको प्रदर्शनीले समाजमा यसको संरक्षणमा केही न केही टेवा पुग्ने कलाकार एवं पुन आर्ट ग्यालरी पोखराका सञ्चालक तीलक पुन बताउनुहुन्छ। कलाका माध्यमबाट समाजका हरेक गतिविधिमा योगदान गर्न सकिने भए पनि कला क्षेत्र अझै राज्यको प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ छ।

सिंहले कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पहिचान बनाएको पोखरामा गरिएको गाई शीर्षकको प्रदर्शनीमा भने अल्कोहल कलर (रक्सी रङ)को नयाँ प्रयोग गर्नुभएको छ।

आगामी भदौ ६ गतेसम्म चल्ने प्रदर्शनीमा कलाप्रेमीका साथै कलाका अध्येताहरू पुग्ने गरेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य सिंहले यसअघि १० वटा चित्रकला प्रदर्शनीका साथै दर्जनौँ सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ। कलाकार सिंहको जीवनीमा आधारित वीरेन्द्र हमाल निर्देशित नग्न तृष्ण नाटक विसं २०६४ मा मञ्चन भइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्