रुसी सैन्य क्याम्पहरुमा हुन थाल्यो युक्रेनी सेनाको आक्रमण, पुटिनलाई थपियो चिन्ता

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ४२


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ६ महिना पुरा हुन लागेको छ। यद्यपी युद्ध रोकिने छाँटकाँट देखिएको छैन।

यो युद्धमा युक्रेनमा लाखौं जनता विस्थापित भएका छन् र शरणार्थीको रुपमा अन्य देश पुगेका छन्।

तर युक्रेनले प्रतिकार गर्न छाडेको छैन। युक्रेनलाई अमेरिका, बेलायतजस्ता राष्ट्रले निरन्तर हतियार दिइरहँदा र त्यहाँका जनता नै हतियार लिएर रुसी सेनाविरुद्ध उत्रँदा रुसलाई युक्रेनका पुरा हिस्सा कब्जा गर्न गाह्रो भइरहेको छ।

यतिबेला त युक्रेनले रुसले कब्जा गरेका क्षेत्र फिर्ता गर्ने अभियान समेत थालिसकेको छ। हालैमात्र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले सन् २०१४ मा कब्जा गरेको क्राइमिया क्षेत्र फिर्ता गरेपछि मात्र युद्ध सकिने बताएका थिए।

यतिबेला युक्रेनमा रहेका रुसी सैन्य अखडाहरुमा युक्रेनी सेनाले आक्रमण गर्न थालेका छन्। सो क्रममा युक्रेनले क्राइमियाको रुसी सैन्य बेसमा पनि हालसालै क्षेप्यास्त्र हानेको थियो।

अहिले पनि क्राइमियाकै कयौं रुसी सैन्य अड्डामा युक्रेनले आक्रमण गर्दा ठूला धमाकाहरु भएको बीबीसीले जनाएको छ। यद्यपी रुसले आफ्नो हतियारको अड्डामा विस्फोटन भएकाले त्यहाँ धमाकाको आवाज आएको बताएको छ।

युक्रेनको राष्ट्रपति कार्यालयले यो घटनालाई रुसी सेना खेदाउने अभियान भनेको छ र सो घटना आफैं नभएको पनि युक्रेन सरकारले बताएको छ।


प्रतिक्रिया दिनुहोस्