हिलवर्टमा निशुल्क आँखा जाँच, विद्यार्थी र अभिभावक खुसी

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : २०


काठमाण्डौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले विद्यार्थीको निशुल्क आँखा जाँच शिविर सुरु गरेको छ । आइतबार एक कार्यक्रम गरेर विद्यालयले अबदेखि नियमित रुपमा आँखा जाँच गर्ने लक्ष्यअनुसार आँखा जाँच सुरु गरेको हो ।

लायन्स क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको प्राविधिक सहयोगमा अनुभवी स्वास्थ्यकर्मीद्धारा भएको आँखा शिविरबाट विद्यालयका एक हजार बढी विद्यार्थी लाभान्वित भएका छन् । विद्यार्थीको आँखा जाँच गरी आवश्यकता अनुसार स्वास्थ्य परामर्श र चस्मा लगाउनु पर्ने स्थिति भएका विद्यार्थीलाई चस्मा पनि दिइएको विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताए । उनका अनुसार अब विद्यालयले अभिभावकको पनि आँखा जाँच कार्यक्रम राख्ने छ ।

कतिपय बालबालिकामा एक्कासी पछि आँखा सम्बन्धि समस्या देखिएर समस्या नदेखियोस् भन्ने उदेश्यले यस्तो कार्यक्रम राखिएको उनले बताए । पढाउने लेखाउने मात्र विद्यालयको दायित्व नरहेको भन्दै स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ । यससंगै विद्यार्थीको उचाई, तौल नापजाँच गर्ने कार्यक्रम पनि भइरहेको पौडेलले बताए । अभिभावक र विद्यार्थीले पनि यो कार्यक्रम निकै राम्रो भएको भन्दै विद्यालयको प्रसंसा गरेका छन् ।

हिलवर्ट शिक्षाको गुणस्तरमा पनि जिल्लामै नमुना छ भने अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक कुशल पाण्डेले बताए । गत हप्ता भएको प्याबसनस्तरीय लोकगित तथा नृत्य प्रतियोगितामा पनि विद्यालय प्रथम भएको भन्दै उनले विद्यालय खेल क्षेत्रमा पनि नमुना भएको बताए । कार्यक्रमको संचालन एकेडेमिक डाइरेक्टर तेज प्रसाद आचार्यले गरेका थिए ।

विद्यालयका अध्यक्ष दीपक खनालले हिलवर्टलाई पश्चिम क्षेत्रकै उत्कृष्ट र नमुना विद्यालय बनाउने गरी संचालक समिति लागेको बताए । अहिले विद्यार्थीलाई विधागत रुपमा सक्षम बनाउनको लागि खेलकुद, गायन, नृत्य, चित्रकला लगायतमा छुट्टै प्रशिक्षक राखेर पठनपाठन भइरहेको खनालले बताए । हिलवर्ट आइएसए अवार्ड प्राप्त गरेको कपिलवस्तुको पहिलो स्विमिङ पुल भएको क वर्गको विद्यालय हो ।


प्रतिक्रिया दिनुहोस्