अटेर गर्दै अमेरिकी सांसदको टोली ताइवानमा, पेलोसीले भ्रमण गर्दा चीनले भनेको थियोः अमेरिका जल्नेछ

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ५३


काठमाडौं। चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ। अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो।

एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन्। भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो।

म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गरेको छ।

ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा लिँदै आएको छ। यद्यपि ताइवानले आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्छ। चीनले अमेरिकालाई एक चीन नीति पालना गर्न दबाब दिँदै आएको छ।

यसअघि पेलोसीको भ्रमणका क्रममा अमेरिकाले आगोसँग खेलिरहेकाले उक्त देश जल्ने चेतावनी दिएको थियो।

चीनले पेलोसीको भ्रमणपछि नै ताइवानमा आक्रमण गर्ने आशंका गरिएको थियो। यद्यपी ताइवान घेरेर सैन्य अभ्यास गरेता पनि त्यहाँ आक्रमण भने चीनले गरेको छैन।

यतिबेला अटेर गर्दै अमेरिकी सांसदहरुको टोली पुनः ताइवान पुगेपछि अमेरिकाले ताइवानको मामिलामा चीनलाई जानाजान चिढ्याइरहेको अनुमान गर्न सकिन्छ।

अमेरिकाले ताइवानलाई चीनबाट सुरक्षित राख्न भन्दै हतियार पनि बेचिरहेको छ। चीनले ताइवानलाई आक्रमण गरेरै आफूमा विलय गराउने बताइरहँदा अमेरिकाले ताइवानलाई उक्साइरहेको छ।


प्रतिक्रिया दिनुहोस्