रूश्दीमाथिको आक्रमणमा इरानको हात छैनः इरानी विदेश मन्त्रालय

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ४४


इरानले विश्व प्रसिद्ध लेखक सलमान रूश्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले पत्रकार सम्मेलनमा भारतीय मूलका उपन्यासकार रूश्दीको छुरा प्रहार र इस्लामिक गणतन्त्र इरानबीच कुनै सम्बन्ध नरहेको बताएका हुन।

आफ्नो पुस्तक ‘द स्याटेनिक भर्सेज’का कारण ज्यान मार्ने धम्की खेपिरहेका रूश्दीलाई गत साता पश्चिमी न्यूयोर्क राज्यमा एक कार्यक्रमस्थलमा छुरा प्रहार गरिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका कैयौँ नेताले घटनाको निन्दा गरेका छन।

सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चा कमाएका भारतीय मूलका बेलायती उपन्यास तथा निबन्धकार रूश्दीलाई आक्रमणपछि तत्काल हेलिकोप्टरमार्फत अस्पताल लगी उपचार गरिएको थियो।

सन् १९८८ मा प्रकाशित उनको पुस्तक ’द स्याटानिक भर्सेज’ले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै तत्कालीन इरानी नेता अयातुल्ला रुहोल्ला खोमेनीले उनीविरूद्ध फतवा जारी गरेपछि निजी सुरक्षाका कारण उनले लामो समयसम्म भूमिगत जीवन बिताएका थिए।

शनिबार न्युयोर्क राज्यमा एक साहित्यक कार्यक्रमका क्रममा छुरा प्रहार भएपछि घाइते रूश्दीलाई तत्काल भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।

अहिले उनलाई भेन्टिलेटरको सहायता बिना नै उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्