ताइवान जोगाउन खोज्दा अमेरिकाले गुमाउनेछ ९ सय लडाकु विमान!

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ५९


काठमाडौं। अमेरिकाको एक थिंक ट्यांक संस्थाले ताइवानमा चिनियाँ आक्रमण रोक्न अमेरिका र ताइवान सक्षम हुने बताएको छ।

यद्यपी यो युद्धले सबै पक्षलाई ठूलो क्षतिपुग्ने सो संस्थाको अनुमान छ।

वासिंटनस्थित द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजले ‘वार गेम’ संचालन गरिरहेका छन्। सो वार गेम युद्ध भए के हुन्छ? भनेर आंकलन गर्न संचालन गरिएको हो।

वार गेममा आवद्ध थिंक ट्यांकका वरिष्ठ सल्लाहकार मार्क कानसियनले बिजनेस इन्साइडरसँग भनेका छन्,‘खुशीको कुरा के भने अन्त्यमा ताइवान चिनियाँ प्रभावबाट स्वतन्त्र हुनेछ।’

वार गेमबाट निस्किएको प्रारम्भिक निष्कर्षलाई सुनाउँदै उनी भन्छन् कि चिनियाँ प्रभुत्वबाट ताइवान अलग रहनेछ तर त्यसको महँगो मूल्य चुकाउनुपर्नेछ।

उनका अनुसार सयौं युद्धक विमानहरु र सयौं युद्धपोतहरु ध्वस्त हुनेछन्। ताइवानको अर्थतन्त्र डामाडोल हुने र चिनियाँ नौसेना र हवाई सेनालाई पनि ठूलो क्षतिपुग्ने कानसियनले बताएका छन्।

द टाइम्स अफ लन्डनका अनुसार यो युद्धमा चार हप्ताको अवधिमा ९ सय अमेरिकी लडाकु विमानहरु पनि ध्वस्त हुनेछन्। यो अमेरिकी फौजसँग भएको आधा विमान हो।

यस्तै चीनका सय युद्धक जहाजहरु पनि ध्वस्त हुने बताइएको छ। चीन र अमेरिका–ताइवानको सैन्य क्षमता र हतियारलाई विश्लेषण गरेर युद्ध भए कस्तो परिणाम निम्तनसक्न भनेर यो वार गेमको परिकल्पना गरिएको हो।

अमेरिकी सभामुख न्यान्सी पलोसीले चीनको कडा चेतावनी बाबजुद पनि ताइवान भ्रमण गरेपछि यतिबेला चीन र अमेरिकाको सम्बन्ध थप बिग्रिएको छ।

भ्रमणका क्रममा पेलोसीले ताइवानलाई अमेरिकाले सँधै साथ दिइरहने बताएकी थिइन्। चीनले भने ताइवानलाई ६ स्थानबाट घेरेर व्यापक सैन्य अभ्यास गरेको थियो।

यसबीचमा चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्नसक्ने अनुमान गरिएको छ। ताइवानले पनि चीनबाट जुनसुकै बेला आक्रमण हुनसक्ने भन्दै सेनालाई सतर्क हुन भनिसकेको छ।

तर यथार्थमा यदी चीनले ताइवानलाई अक्रमण गरि हाल्यो भने ताइवानलाई अमेरिकी सहयोग त मिल्नसक्छ यद्यपी वासिङटनले स्पष्ट रुपमा यदी चीनले आक्रमण गरे अमेरिकाले के गर्छ भनेर प्रस्ट पारेको छैन।

किनभने कूटनीतिक हिसाबले हेर्ने हो भने अमेरिकाले ‘एक चीन नीति’ मान्छ यसको अर्थ अमेरिकाको औपचारिक सम्बन्ध ताइवानसँग नभएर चीनसँग छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्