‘चीन र रुससँग बढ्दो तनाव अमेरिकाको लागि हानिकारक’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : ०९


काठमाडौं। यसै महिना अगष्ट २ तारिखका दिन चीनले आफ्नो भूमि भएको दाबी गर्ने ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको अभूतपूर्व भ्रमण भएपछि यतिबेला चीन र अमेरिकाबीचको बिग्रिएको सम्बन्धमा थप चिसोपना थपिएको छ।

पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिकाले आगोसँग खेलिरहेकाले अमेरिका आफैं जल्ने चेतावनी दिएको थियो। लगत्तै चीनले चार दिनसम्म ताइवान घेरेर सैन्य अभ्यास पनि गरेको थियो।

ताइवानलाई अमेरिकाले पछिल्ला वर्षहरुमा लगातार हतियार विक्री गरिरहेको छ। ताइवान चीनको भूमि भएकाले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको र यस्ता कार्य एक चीन नीति विपरित भएको चीनको भनाइ छ।

चीनसँग अमेरिकाको ताइवानसँगै व्यापार, प्रविधि, मानवअधिकारजस्ता विषयमा पनि चरम मतभेदहरु छन्।

उता अमेरिका र रुसबीच पनि गतिलो सम्बन्ध छैन। रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिकाले औपचारिक रुपमै युक्रेनलाई हतियार सहयोग गरिरहेको छ।

Henry Kissinger marks 50 years since first China visit with call for talks  to avoid 'catastrophe' | South China Morning Post

हेनरी किसिंजर

विश्वभरका विज्ञले अमेरिका–चीन तथा अमेरिका–रुसबीच जारी विवादलाई नियालिरहेका छन्। यस क्रममा अमेरिकाका दिग्गज वयोवृद्ध नेता तथा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिंजरले पनि यी विवादका विषयमा आफ्नो धारणा राखेका छन्।

९९ वर्षका किसिंजरका अनुसार चीन र रुससँग अमेरिकाको विवाद लगातार बढ्दै जानु यो अमेरिकाको हितमा छैन। चीन र रुससँग अमेरिकी विवाद र मतभेद युद्धको आवाज जस्तै भएको किसिंजरको भनाइ छ।

यस्तो विवाद लगातार बढ्दै गए कुनैपनि समय युद्ध निम्तनसक्ने उनले बताएका हुन्। अमेरिकाले नै आंशिक रुपमा झिकेको झमेलका कारण विश्वमा यस्तो समस्या पैदा भएको पनि उनको टिप्पणी रहेको छ।


प्रतिक्रिया दिनुहोस्