गठबन्धन बलियो बनाएर जाऔँ, ढुक्क भएर बस्ने स्थिति छैनः प्रधानमन्त्री

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : १७


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताएका छन् ।

सोमबार पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताएका हुन् । न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न उनको आग्रह थियो ।

‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ ।’ उनले भने, ‘२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेर पराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ । सबै साथीहरुलाई मिलाएर लैजान्छु । कसैलाई अन्याय हुन दिन्न । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला ।’

साथै उनले गठबन्धन छँदैछ भनेर चुनाव जितिहालिन्छ भनेर ढुक्क भएर बस्न नहुने बताए । ‘गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भन्ने पनि परेको छ। त्यस्तो होइन। जनतामा जानुपर्छ। यो देशको मालिक जनता हुन् । जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्