अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प र पूर्व विदेशमन्त्री पोम्पियोलाई आयो हत्याको धम्की!

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : १०


काठमाडौं। विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा यतिबेला क्रमिक सुधार आएको छ।

उनको स्वास्थ्य स्थिर हुँदै गएपछि उनलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन्। उनी बोल्न पनि थालेका छन्।

गत शुक्रबार पश्चिमी न्युयोर्कमा आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले उनीमाथि चक्कु प्रहार गर्दै हत्याको प्रयास गरेका थिए।

माटरले उनको घाँटी, पेट र हातमा १५ पटक चक्कुले प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। माटरले मुस्लिम सिया समुदायमाथि सहानूभूति देखाउने गरेको अमेरिकी प्रहरीको भनाइ छ।

यो आक्रमणको घटनापछि इरानका संचारमाध्यमले भने खुशी व्यक्त गरेका थिए। इरान सरकारको मातहतमा रहेका संचारमाध्यमले रुस्दीमाथि आक्रमण गर्ने हातलाई चुम्बन गर्नुपर्ने टिप्पणी गरेका थिए।

इरानको क्याहान नामक कट्टरपन्थी अखबारले भनेको छ, ‘न्युयोर्कमा धर्मत्यागी र दुष्ट सलमान रुस्दीमाथि आक्रमण गर्ने साहसी र कर्तव्यनिष्ठ व्यक्तिलाई हजारौं वाहवाही। परमेश्वरको शत्रुको घाँटी च्यात्ने मानिसको हातलाई चुम्बन गर्नुपर्छ।’

भारतमा जन्मिएका उपन्यासकार रुस्दीले सन् १९८८ ‘द सटानिक भर्सेस’ पुस्तक प्रकाशन गरेका थिए। उनले लेखेको यस पुस्तकले मुस्लिम धर्मको अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो।

इरानका सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए।

पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए। जसमा पुस्तकका अनुवादक पनि थिए। रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ।

ट्रम्प र पोम्पिओ पनि निशानामा
विश्व चर्चित लेखक रुस्दीमाथि हत्या प्रयास भएपछि यतिबेला इरानका कट्टरपन्थीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्रम्प सरकारका पूर्व विदेशमन्त्री माइक पोम्पिओलाई हत्याको धम्की दिएका छन्।

सर्वोच्च नेता आयोतल्लाह अली खानमेयीले सम्पादक नियुक्त गर्ने केहन पत्रिकाले ट्रम्प र पोम्पिओमाथि अब आक्रमण हुनुपर्छ भनेर समाचार प्रकाशन गरेको द टेलिग्राफले जनाएको छ।

पत्रिकाको सम्पादकीयमा भनिएको छ,‘भगवानले रुस्दीसँग बदला लिनुभएको छ। उनीमाथिको आक्रमणले ट्रम्प र पोम्पेओमाथि यस्ता बदला लिनु गाह्रो काम होइन भन्ने देखाउँछ। ट्रम्प र पोम्पिओले अब जीवनको असली जोखिम महसुस गर्नेछन्।’

सन् २०२० को जनवरी महिनामा ट्रम्पकै निर्देशनमा अमेरिकी सेनाले ड्रोन हमला गरेर इरानको सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेको थियो। इरानले आफूविरद्धको अपराधको बदला लिने सो पत्रिकाको चेतावनी छ।


प्रतिक्रिया दिनुहोस्