नेपालमा लगानीको प्रतिबद्धता बढ्दै, थपिए ८ हजार बढी उद्योग

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ३५


काठमाण्डौँ । कोरोनाको संक्रमण काल २ बर्षमा थला परेको नेपालको उद्योग ब्यवसाय क्षेत्र गत आर्थिक बर्षमा उकासिएको छ। आर्थिक बर्ष २०७७ ७८ को तुलनामा आर्थिक बर्ष २०७९/८० मा उद्योग दर्ता (स्वदेशी/विदेशी), उनीहरुले गरेको लगानी प्रस्ताव र सिर्जना गरेको रोजगारीको संख्या पनि बढेको देखिन्छ।

आर्थिक वर्ष ०७८/७९ मा स्वदेशी र विदेशी गरी ८ हजार ७ स ६४ उद्योग दर्ता भएका छन्। जसमा स्वदेशीतर्फ ठुला उद्योग १३ सय ५, मझौला २०१७ र साना उद्योग ५ हजार ४ सय ४२ दर्ता भएका छन्। यिनीहरुको कुल लगानी प्रस्ताव २६ खर्ब २७ अर्ब रहेको छ। जब कि अघिल्लो आर्थिक बर्षमा ३०९ वटा उद्योगमा ३ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ लगानी स्वीकृत भएको उद्योग तथा बाणिज्य विभागको तथ्याङ्कले देखाउँछ।

आर्थिक वर्ष ०७७/७८ मा साना, मझौला र ठूला गरी जम्मा २०३ उद्योगले १ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएका थिए । यसले उद्योगको दर्तासँगै लगानीमा प्रतिबद्धतासमेत बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ।

गत बर्षमा दर्ता भएका सबै प्रकारका उद्योगले ६ लाख ५७ हजार ५०७ जनालाई रोजगारी सिर्जना गर्ने प्रस्तावित गरेको तथ्यांकले बताउँछ। यो संख्या ७७ ७८ को भन्दा धेरै हो। ७७ ७८ मा जम्मा १० हजार ८ सय ५५ जनालाई मात्र रोजगारी दिने प्रस्ताव गरेका विभागको तथ्यांकमा उल्लेख छ।

कोरोनाको २ बर्षपछि गत बर्षमा विदेशी लगानी गर्नेको संख्यामा पनि वृद्धि भएको देखिन्छ। गत वर्ष नेपाल जस्तै अन्य मुलुकसमेत कोभिडको महामारीमा परेका हुँदा यस वर्ष विदेशी लगानीसमेत धेरै बढेको विभागले जनाएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा १८४ उद्योगको लगानी स्वीकृत हुँदा ६ अर्ब ७८ करोड रुपैयाँ लगानीका ५२ वटा मात्रै उद्योग दर्ता भएका थिए।

यस्तै आर्थिक वर्ष ०७८/७९ मा २९१ वटा उद्योगका लागि ५३ अर्ब ७० करोड रुपैयाँ लगानी स्वीकृत हुँदा ५८ उद्योग मात्रै दर्ता भएका छन्। जसमा ठुला ३२२, मझौला ६०३ र साना ४ हजार ६ सय ८ विदेशी उद्योग दर्ता भएका छन्।

कोभिडको प्रकोप कम भई वातावरण सामान्य भएकाले उद्योगमा लगानी बढ्दै गएको उद्योग विभागका विभागका सूचना अधिकारी घनश्याम न्यौपानेले बताए।

उनले आर्थिक बर्ष ७७/७८ मा कोरोनाको कारण लकडाउन भएर लगानी जोखिममा पर्ने डरले उद्योग दर्ता कम भएको र अहिले वातावरण सहज भएकाले उद्योगमा लगानीको वातावरण बनेको बताए। तर दर्ता भएका सबै उद्योग भने संचालनमा छैनन्।

यसको एकिन तथ्याङ्क तत्कालका लागि विभागमा नभए पनि दर्तामध्ये केही प्रतिशत उद्योग भने बिभिन्न कारणले संचालन हुन नसकेको विभागका सूचना अधिकारी घनश्याम न्यौपानेले बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस्