एमालेले स्वीकार्‍यो अर्थमन्त्री शर्मालाई

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ५४


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकारेको छ । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार पहिलो पटक संसदको रोष्ट्रम प्रयोग गरे ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्नताको आरोप लागेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन दिएपछि १५ साउनमा पुनः अर्थमन्त्रीमा नियुक्त भएका शर्माले पहिलोपटक संसदको रोष्ट्रम प्रयोग गरेका हुन् ।

आइतबार अर्थमन्त्री शर्माले अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयकमाथि छदफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे । छलफल गरियोस् भन्ने प्रस्ताव एमालेका सांसदहरुसहितको सभाले बहुमतले स्वीकृत गर्‍यो । त्यसपछि सांसदहरुलाई विधेयकमाथि बोल्न सभामुखले समय दिए । छलफलमा एमालेका सांसदहरुले पनि भाग लिए । छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभाले विधेयक बहुमतले पारित गर्‍यो ।

सभामा यस्तो सहज दृष्य धेरै पछि देखापरेको हो । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि एमालेले संसदमा अर्थमन्त्री शर्मालाई बहिष्कार गरेको थियो ।

बजेटको मन्त्रालयगत शीर्षकगत छलफलमा अर्थमन्त्री शर्मा रोष्ट्रम जाँदा सभाहलबाट बाहिररिने र अर्थमन्त्री शर्मा रोष्ट्रमबाट ओर्लिएपछि सभाहल छिरेर लुकामारी गरेको एमालेले आइतबारसम्म आइपुग्दा अर्थमन्त्री शर्मालाई सहजै स्वीकार गरेको हो ।


प्रतिक्रिया दिनुहोस्