काठमाडौंमा गएराति भारी वर्षा, नदी किनारमा सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ३६


काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका ठाउँमा गएराति ठूलो पानी परेको छ । काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो । ती नदीमा पानीको सतह बढेको छ ।

मनोहरामा जलसतह बढेपछि बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले काठमाडौं उपत्यकामा पानी पर्न रोकिएको छ । तर अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

अरु प्रदेशमा पनि हल्कादेखि मध्यमखालको पानी परेको छ । जोखिम बढेकाले साना नदीहरुमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ । वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र प्रदेश–१ सहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१ का एकरदुई ठाउँमा मध्यम पानी पर्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । आउँदो ३ दिनसम्म प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।


प्रतिक्रिया दिनुहोस्