बृहत् स्वतन्त्र राष्ट्रिय अभियानले ‘लौरो’ चिन्हबाट चुनाव लड्ने

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ४५


बृहत स्वतन्त्र राष्ट्रिय अभियानले आगामी चुनावमा साझा चुनाव चिन्ह ‘लौरो’ लिएर जाने घोषणा गरेको छ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियानले सो कुरा जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै नेपाल नागरिक स्वतन्त्र सञ्जालका अध्यक्ष दिनेश सुवेदीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा स्वतन्त्र, परिवर्तन चाहने शक्ति र दलहरु एउटै साझा चिन्ह लिएर जाने निर्णय गरिएको बताएका हुन्।

उनले भने,‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा हामी स्वतन्त्र व्यक्तिहरु, परिवर्तन चाहानेहरु शक्तिहरु र राजनीतिक दलहरु एउटै साझा चिन्ह लिएर जाने भएका छौं, सबै शक्तिहरु एक भएर एउटै उद्देश्य लिएर साझा एजेण्डा, नीति, राजनीतिक दर्शन तयार पारेर आम नागरिकको अपनत्व लिनेगरि लौरो चिन्ह लिएर चुनावमा जानेछौं ।’

उनले देशमा भएका गलत परिपाटीलाई सुधार गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकत्ता औंल्याए। उनले भने,‘जनताको शक्तिलाई यो दुनियाँमा कसैले पनि रोक्न सक्दैन्। जनताले परिवर्तन चाहेका छन्।’ उनले समानुपातिक निर्वाचन प्रणालीको नाममा नेपाली राजनीतिमा टिके प्रथा हावी भएको टिप्पणी गरे। उनले भने,‘देशमा प्रदेश सरकारको नाममा धेरै बेतिथि भएका छन्। त्यसलाई सुधार गरेर, भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बेला आएको छ।’ अब स्वतन्त्र व्यक्तिहरुले मात्र देशको विकास गर्ने उनको दाबी थियो । सुवेदीले सो अवसरमा सञ्जालले जारी गरेको प्रेश विज्ञप्ती वाचन गरेर सुनाएका थिए।

यसैगरी, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले ‘लौरो’ देखेर डराउनेलाई चोर र पशुको संज्ञा दिए। ‘वृद्धवृद्धालाई टेक्ने भ्रष्टाचारीलाई सेक्ने’ भनाईले जनजन प्रभावित भएको उनले दाबी गरे। उनले सात अभियान मिलेर नवगठित बृहत स्वतन्त्र राष्ट्रिय अभियानले साझा मूल दर्शन सात बुँदामा तयार पारेको बताए। त्यसमा सबैको स्विकृति र अस्विकृति समेटिएको उनको भनाई थियो ।

बुढारपाकाहरु मात्र संसद्मा भएको उल्लेख गर्दै नेपालले संसद्बाटै मागेर काम चलाउनुपर्ने आवाज उठेकोमा आपक्ति जनाए । उनले भने,‘विदेशीका बुट नेपाली आमाको छातीमा बजार्न छाती खोलेर दिन्छु भन्नेहरु पनि संसद्मा देखियो ।’ उनले आफूहरुले पार्टी प्रवेशमा विश्वास नगर्ने भन्दै विचारमा ध्यान दिने बताए । वेबसाइटमा स्वतन्त्र उम्मेदवार हुन चाहानेलाई अनलाइन फर्म भर्न आग्रह गर्दै उनले उम्मेदवारी दिनेहरुले सम्पत्ति विवरण खुलाउनैपर्ने अनिवार्य शर्त रहेको पनि सुनाए।


प्रतिक्रिया दिनुहोस्