पछिल्लो चार दिनसम्म नेप्सेमा उच्च गिरावट

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ३ : ५४


काठमाडौं। केही साताअघि निरन्तर बढेको बजार पछिल्लो नौ दिनयता निरन्तर घटिरहेको छ। बल्लतल्ल बढ्ने छनक देखाएको बजार दिनहुँ घट्दा परिसूचक दुई हजार विन्दु नजिक आइपुगेको छ। बैंकहरुमा तरलता अभाव कायमै छ। बजार निरन्तर घट्दा लगानीकर्ता आत्तिएका छन्। फल स्वरुप आजको बजारमा खरिदकर्ता भन्दा बिक्रेताको चाप बढेको पाइएको छ।  सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घट्यो ।

पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।  साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९.०६ अंक (०.९३ प्रतिशत) ले गिरावट हुँदा २०३७.८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो ।

नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार रकम पनि घटेको छ । सामूहिक लगानी कोष उपसूचक बाहेक सबै उपसूचक घटेको छ । सामूहिक लगानी कोष उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक २.३८ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्