स्याङ्जाको पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा भेटिए

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ३ : ४१


स्याङ्जाl स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला पर्नुभएको छ ।

वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उहाँ मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

भित्री कच्ची सडकमा ग१६प ५४६१ नंको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताउनुभयो । घटनास्थलमा नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको जनाइएको छ ।

प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए ।

शव परीक्षणका लागि वालिङस्थित प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्