कोरोना पराजित गरेको उत्तर कोरियाको घोषणा, किमलाई पनि भएको थियो कोभिड!

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ३ : २३


प्योङयाङ। उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन्। झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन्।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे।

महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो। ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो।

उत्तरले सुरुमा परीक्षण नै नगरी ज्वरोका विरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो। जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन्।

यसैबीच सर्वोच्च नेता किम जोङ–उन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन्। उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ।

उत्तर कोरियामा महामारी फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छिन्। दक्षिण कोरियाले सीमामा कोभिड संक्रमित पर्चा तथा बेलुनहरु पठाइदिएको उनले आरोप लगाइन्। तर, दक्षिण कोरियाले उक्त दाबीलाई निराधार बताएको छ।

कोरोनाको तथ्यांक राख्ने वेबसाइट वर्ल्डोमिटरका अनुसार हालसम्म उत्तर कोरियामा कोरोना भाइरसका कारण ४७ लाख ७२ हजार ८१३ संक्रमित बन्दा ७४ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्