युक्रेनविरुद्ध युद्ध गर्ने सर्तमा रुसले रिहाई गर्दैछ खुंखार अपराधीहरु…

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ०५


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ६ महिना पुरा हुन लागेको छ। यद्यपी दुवै देशका सेनाबीचको युद्ध अझैसम्म रोकिएको छैन।

युद्धका क्रममा युक्रेनलाई खरबौं–खरब घाटा भइसकेको छ। रुसी आक्रमणले युक्रेनका अनगिन्ती पूर्वाधार क्षतिग्रस्त भएका छन्।

रुसले गत फेब्रुअरी २४ बाट आक्रमण सुरु गर्दा चाँडै नै युक्रेनलाई कब्जा गर्ने अनुमान गरिएको थियो, यद्यपी पश्चिमा राष्ट्रबाट हतियार पाइरहेको युक्रेन रुस सामु झुकेको छैन।

अहिले त युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया क्षेत्र आफ्नो नियन्त्रणमा ल्याएपछि मात्र जारी युद्ध समाप्त हुने बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नियन्त्रणमा रहेको क्राइमियास्थित रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएपछि मंगलबार राति क्राइमिया फिर्ता गरेपछि मात्र युद्ध सकिने बताएका हुन्।

डेलीमेलका अनुसार हाल क्राइमियाबाट रुसी सेनाहरु र मानिसहरु भाग्न थालेका छन्। सो विस्फोटन कसले गरायो केही खुलेको छैन। यद्यपी जेलेन्स्कीले क्राइमिया फिर्ता गर्ने बताइरहँदा युक्रेनले नै त्यहाँ आक्रमण गरेको अनुमान गरिएको छ।

(भिडिओ)

अमेरिकाले धेरै प्रकारको क्षेप्यास्त्र प्रणाली युक्रेनलाई दिएको छ। त्यस्ता हतियारको विषय सुक्ष्म राखिएका छन्। अमेरिकी अतियारले नै क्राइमियामा रहेको रुसी सैन्य अड्डाहरुमा युक्रेनले आक्रमण गरेको हुनसक्ने आशंका छ।

युक्रेनले अमेरिका लगायत पश्चिमा राष्ट्रबाट हतियार सहयोग पाइरहँदा रुसलाई युक्रेनको युद्ध जित्न गाह्रो भइरहेको छ।

युद्ध दिनदिनै लम्बिरहँदा रुसले यतिबेला आफ्ना देशको जेलमा रहेका खुंखार अपराधीहरुलाई युद्धमा होमिन प्रेरित गरेको विवरणहरु प्राप्त भएका छन्।

सीएनएनका अनुसार रुसमा आजीवन जेल सजाय भोगिरहेका अपराधीले यदी युक्रेनविरुद्धको युद्धमा होमिने मनसाय बनाए रुसी राष्ट्रपति पुटिनले उनीहरुलाई जेलमुक्त गर्नेछन् र तलब लगायत अन्य सुविधा पनि दिनेछन्।

यसअघि पनि रुसले सिरिया लगायतका क्षेत्रबाट भाडाको लडाकु ल्याएको खबर आएको थियो। हालै मात्र उत्तर कोरियाले पनि युक्रेनविरुद्ध लड्न एक लाख स्वयंसेवक सेना पठाउन आफू तयार भएको समाचारहरु आएका थिए।


प्रतिक्रिया दिनुहोस्