सीएनआई रोजगार तथा सीप मेला २०७९ आयोजना हुने

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : २०


काठमाडौं। नेपाल उद्योग परिसंघले सीएनआई रोजगार तथा सीप मेला, २०७९ आयोजना गर्ने भएको छ।

नेपाल उद्योग परिसंघले परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा पहिलोपटक मेला आयोजना गर्न लागेको हो।

आज परिसंघले पत्रकार सम्मेलन गर्दै कात्तिक १७ देखि २० गते सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा मेलाको आयोजना गर्ने जानकारी दिएको हो।

विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरूलाई एकै ठाउँमा आवद्ध गराउनु नै मेलाको उद्देश्य रहेको परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताएका छन्। रोजगारदाताको आवश्यक्ता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा मेलामा बृहत छलफल पनि हुने जानकारी अधिकारीले दिएका छन्।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट प्रस्तुती, आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरूसँग सम्पर्क वा छलफल गर्न सकिने मेलाको आकर्षणको रूपमा रहेको छ।

तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरू सहभागि हुने अपेक्षा परिसंघको रहेको छ। साथै कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरू, सेवा तथा उत्पादनमुलक उद्योगहरू, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरूसमेत गरि ५० हजार भन्दा बढी व्यक्तिहरूले मेलाको अवलोकन गर्ने अपेक्षा परिसंघले गरेको छ।


प्रतिक्रिया दिनुहोस्