अमेरिकाले आणविक बम हानेको ७७ वर्ष पुरा, के भएको थियो हिरोसिमा र नागासाकीमा?

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : २८


टोक्यो। जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७औँ वार्षिकोत्सव मनाइएको छ। आज सो समारोहको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको छ। मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो।

उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो। उनीहरुले यस दिनलाई एक दुःखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कल्पना पनि गरेका थिए। सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो।

स्थानीय समयानुसार मङ्गलबार बिहान ११ः०२ मा यस समारोहमा उपस्थित व्यक्तिहरूले एक क्षण मौनधारण गरेका थिए। आजभन्दा ७७ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्तराज्य अमेरिकाले दुई अणुबम खसालेको थियो। ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए । यस बमको असरले पछि कति नागरिक मरे भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन।

उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन्।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो। उक्त बममा युरेनियम–२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो। दश फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी–२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो।


प्रतिक्रिया दिनुहोस्