फोहोर बोक्ने गाडीमा तोडफोड भएपछि रुष्ट बने बालेन, यसो भने…

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ५१


काठमाडौं। फाहोर बोक्ने सवारी साधनमा तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह रुष्ट बनेका छन्।

उनले आफू पहिलो दिनबाटै काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा लागेकाले यस्ता कार्यले फोहोरमुक्त काठमाडौं अभियानलाई नकरात्मक असर गर्ने बताएका छन्।

उनले चरणबद्ध रुपमा फोहोर उठाउने कार्यलाई प्रभावित पार्न धेरै प्रयास भइरहेको पनि उल्लेख गरेका छन्। दोषीलाई कारवाही गरिने पनि उनको भनाइ छ।

उनले फोहोर बोक्ने सवारी साधन तोडफोड भएको विषयमा भनेका छन्,‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ।
यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो। कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ। तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ। यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ।

केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन। विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ।’


प्रतिक्रिया दिनुहोस्