चीनले आक्रमणको तयारी गर्यो, हामी हरेक समय सतर्क हुनुपर्छः ताइवान

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ३७


काठमाडौं। अमेरिकी कँग्रेसकी सभामुख न्यान्सी पेलोसीले गतहप्ता ताइवानको भ्रमण गरेपछि चीनले ताइवानलाई पुरै घेरेर सैन्य अभ्यास सुरु गरेको थियो।

चीनले ६ स्थानबाट ताइवान घेरेर युद्ध अभ्यास गरेको थियो र त्यो सैन्य गतिविधि अझै जारी छ।

ताइवानको विदेश मन्त्रालयले चीनको यस युद्ध अभ्यासलाई आफूमाथिको आक्रमणको तयारी भनेको छ। ताइवानका विदेशमन्त्री जोसेफ वुले मंगलबार भनेका छन्,‘चीनले ताइवान स्ट्रेटको यथास्थिती बदल्न खोजिरहेको छ। चिनियाँ जनमुक्ति सेनाको गतिविधिले चिन्ता बढाएको छ र सम्भवत हामीमाथि उनीहरुले आक्रमण गर्नसक्छन्।’

ताइवान स्ट्रेट चिनियाँ र ताइवानबीचको समुद्री सीमा क्षेत्र हो। तर चीनले युद्ध अभ्यास थालेदेखि नै समुद्री सीमा क्षेत्र मिचिरहेको छ। जसले सो क्षेत्रको क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा नकरात्मक असर गर्नसक्ने जोसेफ वुले बताएका छन्।

गतहप्ता जब चीनले ताइवान वरपर युद्ध अभ्यास थालेको थियो त्यसबेला ताइवानले आफ्नो भूमि वरपर चीनले ११ वटा क्षेप्यास्त्र हानेको बताएको थियो। जसमध्ये चार क्षेप्यास्त्र राजधानी ताइपेईको आकाशबाट उडेको थियो। चिनियाँ क्षेप्यास्त्र ताइवानको भूमिमा प्रवेश गरेको यो पहिलो घटना हो।

Foreign Minister Joseph Wu to meet with former US defense secretary - News - RTI Radio Taiwan International

जोसेफ वु

यसैगरी गत बुधबारदेखि आइतबारसम्म चीनले ताइवानको सुमुद्री तथा हवाई सीमा क्षेत्र धेरैपटक पार गरिसकेको छ। चीनका १२० युद्धक विमान ताइवान घुसेको बताइएको छ। ताइवानले जवाफमा युद्धक लडाकु विमानहरुहरु पठाएर ती विमान खेदेको जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार सोमबार साँझ मात्र चीनका ३९ लडाकु विमान र १३ युद्धपोत ताइवानको समुद्री क्षेत्रमा आइपुगेका थिए।

जतिबेला पनि चिनियाँ सेनाले आक्रमण गर्नसक्ने अवस्था भएकाले ताइवानले आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन निर्देशन दिएको छ।

यतिबेला ताइवानले पनि मंगलबारदेखि बिहीबारसम्म युद्ध अभ्यास गर्ने भएको छ। ताइवानले आफ्नो सैन्य अभ्यासमा रक्षात्मक हतियारको प्रयोग गर्नेछ।

चिनियाँ आक्रमणको खतरा बढेको भन्दै ताइवान सरकारले यतिबेला विश्वभरका राष्ट्रको साथ खोजिरहेको छ। विदेशमन्त्री जोसेफ वु यस विषयमा भन्छन्,‘हामी ताइवन स्ट्रेटको सुरक्षा र यथास्थितीको अवस्था कायम राख्न धेरैभन्दा धेरै देशको समर्थन चाहन्छौं।’ बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्