घरमा एफबीआईले छापा हानेपछि रुष्ट बने ट्रम्प, भन्छन्ः राष्ट्रपति हुनबाट बन्चित बनाउने योजना

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : २६


न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ। एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन्।

पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ। आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको हो।

आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ।

ट्रम्प भने एफबीआईको यस कदमले रुष्ट बनेका छन्। ‘मैले अवश्य सबै सरकारी निकायलाई अनुसन्धानमा सहयोग गरेको छु। यसरी मेरो घरमा अघोषित रुपमा छापा मार्नुको अर्थ थिएन। न्यायपालिकालाई आफू अनुकुल प्रभावित पार्न खोजिएको छ’ उनले छापा हानेको विषयमा भनेका छन्,‘मलाई सन् २०२४ को राष्ट्रपतिको निर्वाचनमा लड्नबाट बन्चित गर्न योजना बनाइएको छ।’

यस्ता गतिविधिले अमेरिका तेस्रो विश्वका देशको रुपमा स्थापित हुने भन्दै उनले अमेरिका भ्रष्ट देशजस्तो भएको बताए। उनी भन्छन्,‘अमेरिकाको छवि पहिले यस्तो कहिल्यै थिएन।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्