गोविन्द केसीले इलामबाट सुरु गरे निःशुल्क सेवा

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : १०


मङ्गलबारे । डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गर्नुभएको छ।

इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो। आजदेखि २० दिनसम्म उहाँले सेवा दिनु हुनेछ।

डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु बताउनुभयो। सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँको भनाइ छ।

सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन्।

त्यसबाहेक १५ वटा देश पुगेर उहाँले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ।

गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन्।

डा.केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ। उहाँले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिनुहुने जनाइएको छ।

इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो।

उहाँले आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्