सम्भावित चुनावी गठजोड, मंसिर ४ पछि मुलुकले निकास पाउला ?

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : २२


काठमाण्डौँ । गत विहिबार बसेको मन्त्रीपरिषद् वैठकले मंसिर चार गतेको लागि प्रतिनिधि र प्रदेश सभाको लागि चुनावको मिति घोषण गरेसंगै मुलुक चुनावमय भएको छ । निर्वाचन आयोगले गत असारमै चुनावको मिति तोक्न सरकारलाई निर्देशन दिएको थियो तर सरकारले चुनावको मिति घोषणा गरेको थिएन । जसको कारण चुनाव कहिले हुन्छ अन्यौलता थियो । चुनावको मिति सर्ने पो हो कि ? भनेर आयोग पनि अलमलमा थियो भने दल र नेताहरु पनि अन्यौलमा थिए । यता आम सर्वसाधारणमा पनि चुनावको उल्लास त्यति थिएन ।

तर विहिबारपछि भने चुनावको सरगर्मी ह्वात्तै बढेको छ । सर्वसाधारणका घर, चियाचोक, चौतारी, ब्यापारिक अड्डादेखि सिंह दरबासम्मका क्षेत्र चुनावको चर्चाले तातेका छन् । निर्वाचन आयोग, नेता, कार्यकर्ता र सर्वसाधारण मात्र होइन कर्मचारीलाई पनि चुनाव उत्तिकै लागेको बुझ्न सकिन्छ ।

मुलुकमा अहिले बिभिन्न प्रकारका राजनैतिक भूभमेन्ट सक्रिय छन् । कति स्वाभाविक छन् भने कति अस्वाभाविक छन् । यसले राजनीतिको पारो तातेकै छ । यस्तो अवस्थामा प्रमुख राजनैतिक दल (काँग्रेस, एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, जसपा, लोसपा इत्यादि ) मा चुनौतिको पहाड पनि थपिएको देखिन्छ । यी सबै परिदृशयलाई मध्यनजर गर्दै नेताहरुले चुनावमा ककसलाई उठाउने र केके एजेण्डा जनतासामु लैजाने भन्ने गृहकार्यमा छन् । यता मतदाताहरु कस्ता उम्मेदवार उठ्ने हुन् प्रतिक्षामा रहेका देखिन्छन् ।

प्रमुख सत्तारुढ ५ दलीय घटक ( काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा) सिट बाँडफाँटको विषयलाई लिएर छलफलमा लागेको छ । ११ सदस्यीय कार्यदल बनाएर उनीहरुले भागवण्डा मिलान गर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जापान भ्रमणमा रहेकाले उनी स्वदेश फिर्ता नहुँदासम्मको लागि सत्ता घटकले अहिले आआफ्नो तवरले गृहकार्य थालेका छन् ।

सोही अनुसार प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आफू मातहतका शीर्ष नेतालाई राखेर आगामी चुनावबारे छलफल गरिरहेको देखिन्छ । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा त मधेश मिसनमा लागिसकेका छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मधेशमा सबैभन्दा धेरै सिट हासिल गरेको काँग्रेसले मधेशमा लोसपासंगको तालमेलबारे छलफल गरिरहेका छन् । उनले लोसपाका मागहरु पुरा गरिदिने भन्दै सरकारमा सहभागी हुन अपिल गरेका छन् ।

यसबाट काँग्रेसले आगामी चुनावमा आफूलाई बलियो बनाउन खोजेको देखिन्छ । यता सत्तासिन माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा पनि आन्तरिक तयारीमा जुटेका देखिन्छन् । सत्तारुढ दलहरु आगामी चुनावमा गठबन्धनलाई बलियो बनाएर दुईतिहाइ या बहुमत हासिल गर्ने कसरतमा रहेका देखिन्छन् । उनीहरुको तयारी एमालेलाई एक्ल्याउने र चुनावमा ध्वस्त पार्ने खालको देखिन्छ ।

सत्तारुढ दलले चुनावी तयारी सुरु गरिरहँदा प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलले पनि तयारी सुरु गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओालीले चुनावको मिति घोषणापछि बिभिन्न कार्यक्रममा सम्बोधन पनि गरिसकेका छन् । परमादेशबाट बनेको सरकारको १ बर्ष खेर गएको भन्दै सरकारका गलत कामको कडा ढंगबाट प्रतिपाद गर्ने गरी चुनावको तयारीमा एमाले उत्रिएको देखिन्छ ।

सत्तारुढ दलले गठबन्धन मजबुत बनाएर चुनावमा जाने निर्णय गरेसंगै एमालेले पनि आन्तरिक कुटनीति थालेको देखिन्छ । एमालेको पहिलो प्राथमिकता गठबन्धन भत्काउने, दोश्रोमा एक्लै चुनौति दिने, कमजोर हुने स्थिति देखिए राजेन्द्र लिङदेनको राप्रपा, कमल थापाको राप्रपा नेपाल, महन्थ ठाकुरको लोसपा, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, नेत्रवीक्रम चन्दको नेकपा, हृदेयश त्रिपाठीको जनता प्रगतिशिल लगायतलाई जसरी पनि समेटेर अर्को गठबन्धन बनाउने योजना छ ।
यद्यपी महन्थ ठाकुर, बाबुराम भट्टराइ र विप्लवको पार्टीले गठबन्धनमा सामेल हुने या एक्लै चुनावमा भीँड्ने अझै बाटो क्लियर गरेका छैनन् । उनीहरु सत्तारुढ दल र विपक्षी एमालेसंग पनि छलफल गरिरहेका छन् । लिङदेन र कमल थापाले एमालेसंग चुनावी सहकार्य गर्ने संकेत गरेको अवस्था छ भने विप्लवको पार्टी पनि ओलीसंग संवादमा रहेको देखिन्छ । यदि चुनावमा भाग लिएको खण्डमा विप्लव ओलीसंगको गठजोडमा सामेल हुन सक्ने जानकार बताउँछन् । किनकि सरकारले बिभिन्न मुद्धामा पक्राउ पुर्जी जारी गरेपछि विप्लव देउवा र प्रचण्डसंग क्रुद्ध छन् । यसकारण पनि विप्लव ओली खेमामा चुनावमा सहभागि हुन सक्छन् ।

उसो त काँग्रेस, एमाले र माओवादीका दोश्रो, तेश्रो धारका नेताको पनि आआफ्नै तयारी रहेको देख्न सकिन्छ । मुलक र जनताप्रति अब शीर्ष नेतृत्व गम्भिर र संवेदनशिल नरहने, सक्षम र योग्य उम्मेदवारलाई टिकट नदिने हो भने वातावरण अर्कै खालको हुने भन्दै पार्टीभित्र दबाब सिर्जना गर्न उनीहरु उद्धत देखिन्छन् ।
यता नयाँ पुस्ताको रुपमा उदाएका केही दल र प्रवृत्तिहरुले गरेको कार्यक्रममा जनताको अस्वाभाविक लहले पनि आगामी चुनावको माहौल तातेको छ । ठुला राजनैतिक दललाई स्वतन्त्र भनिएका दल र स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेकाले तनाव दिइरहेका छन् । चुनाव संगै पुराना पुस्तालाई हराउने अभियान पनि अहिले चुनावसंगै अगाडी बढिरहेकोले भोलि के हुने हो सजिलै भन्न सकिने अवस्था छैन । स्थानीय चुनाव र राजनैतिक गतिविधिको आधारमा संयुक्त सरकारले बढी सिट ल्याउने आंकलन विश्लेषकहरुको छ ।

जे भए पनि चुनावी तयारीमा रहेका अहिलेका दल र पात्रले मुलुकको विकास गर्ने लक्ष्य बोकेको पाइँदैन । प्रमुख दलहरु त कसरी फेरि पनि सत्ता हत्याउन सकिन्छ भन्ने ध्याउन्नले गठजोड बनाइरहेका कारण चुनावपछि पनि मुलुक अस्थिर अवस्थामै रहने बुद्धिजिवीहरु बताउँछन् । जनतामा जाने नयाँ सोँच, भिजन र मुलुक विकासको एजेण्डामा कुनै पनि दल संवेदनशिल नरहेका कारण आगमी चुनावबाट गलत प्रवृत्ति र पात्रलाई हराउन जनता स्वयम् संवेदनशिल रहनुपर्ने उनीहरुको भनाई छ । यही गठजोड कायम रहने र मंसिरपछि पनि ओली, देउवा र प्रचण्ड नै प्रधानमन्त्री बन्ने अवस्था आउने हो भने मुलुकले निकास पाउन नसक्ने विश्लेषकहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्