करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ४३


दाङ । पश्चिम दाङमा करेन्ट लागेर एकको मृत्यु भएको छ। दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।

विकलाई बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्ने क्रमा आज करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको प्रहरीले जनाएको छ। उनको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

त्यस्तै देउखुरीमा भीरमौरीको टोकाइबाट गम्भीर घाइते भएका राप्ती गाउँपालिका–७ लैबरुवा बस्ने ३३ वर्षीय खीमबहादुर कुमालको पनि आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

शनिबार घर नजिककै जङ्गलमा साथीसँगै रुखमा चढेर मौरी काट्ने क्रममा मौरीले टोक्दा गम्भीर घाइते भएका उनको लमही अस्पतालस्थित उपचारको क्रममा निधन भएको हो। रासस


प्रतिक्रिया दिनुहोस्