बाँदर र बँदेलले काभ्रेका किसानलाई हैरान पारेः गोकुल बाँस्कोटा

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ०४


काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले बाँदर र बँदेलले काभ्रेका किसानलाई हैरान पारेको बताएका छन्।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले त्यहाँको दशौं हजार रोपनीमा लगाएको अन्नबाली बाँदर र बँदेलले नोक्सान पारेको बताए।

तर,त्यसको रोकथामका लागि सरकारले केही नगरेको गुनासो गर्दै भने,‘स्थानीय पालिकामा भन्यो बजेट आएको छैन भन्छन्,प्रदेशमा भन्यो संघले बजेट दिँदैन,संघमा कुरा गर्यो विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिँदैन । किसानलाई पेन्सन दिन्छु भनेर सरकारले घोषणा गरेको पनि डेढ महिना बित्यो। अब तिनले के पाउँछन्?’

उनले संघीयताको औचित्यमाथि पनि प्रश्न उठाएका छन् । संघीयता खारेजीको पक्षमा वकालत गर्दै आएका बाँस्कोटाले प्रदेश सरकार जनताले फेला नपारेको र कर्मचारी अभावले स्थानीय तहमा कामै नहुने अवस्था रहेको गुनासो गरे । उनले संघीयता आन्दोलनको माग नभएको समेत दावी गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्