अरिंगालले टोक्दा एक जनाको मृत्यु

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ३९


काठमाडौं । रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो।

साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो।

तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए।

सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ। त्यसकारण सुनारलाई ५३ वटा अरिङ्गालले टोकेको अुनमान गरिएको विश्वकर्माले बताए। सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए।

उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडीसमेत थिए। सुनार हाल त्रिवेणी गाउँपालिकामा कर सङ्कलकका रूपमा कार्यरत थिए। उनलाई गाउँपालिकाले रुकुम र सल्यानको सिमाना खौलामा खटाएको थियो । त्यहीँबाट अरिङ्गाल झार्न सल्यान गएको बताइएको छ। सुनारको शव जिल्ला ल्याइरहेको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्