महानगर प्रवक्ताको प्रश्न-कसले भन्यो काठमाण्डौँको फोहोर उठेन?

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ५४


काठमाण्डौँ । लामो समय फोहर नउठेर आलोचना भइरहेको बेला काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहर उठिरहेको दावी गरेका छन् ।  फोहर नियमित रुपमा उठिरहेको दावी गर्दै उनले यदि रोकिएको भए पनि गाडीहरु थप गरेर समयमा फोहोर उठाइने  प्रवक्ता मानन्धरले दैनिक अनलाइनसंग बताए।

उनले भने ‘महानगरले उठाउनु पर्ने फोहर महानगरले उठाउनु पर्दछ । कम्पनीले जिम्मा लिएको क्षेत्रको फोहर उनीहरुले उठाउनु पर्दछ । तर फोहर समयमा नै उठाउनु पर्दछ । काठमाण्डौँलाई विश्वको सुन्दर बनाउनु पर्दछ ।’ साउन महिनाभर फोहोर उठेन न नि भन्ने प्रश्नमा उनले भनेका छन् ‘ फोहर उठेन भनेर कसले भन्यो ? फोहर उठिरहेकै छ । केही दिन सिसडोल र बञ्चरेडाँडा जाने बाटो बिग्रिएको थियो । तै पनि सातासातामा फोहर लगिरहेको छ । पहिलेकोजस्तो फोहर ब्यवस्थापनमा समस्या छैन । काठमाण्डौँको फोहर उठाउँछौँ । गाडी थपेर भए पनि काठमाण्डौँको फोहर उठाउँछौँ ।’ तर उनको दावीविपरित अहिले काठमाण्डौँमा जताततै फोहर थुप्रिएको छ । जसका कारण दुर्गन्ध पनि बढिरहेको छ ।

प्रवक्ता मानन्धरले आफ्नो वडामा आफूले कहिँकतै फोहर जम्मा हुन नदिएको भन्दै सबै वडा अध्यक्षले फोहर ब्यवस्थापनको विषयका समस्या वडामै समाधान गर्नुपर्ने बताए । फोहरको श्रोतमै बर्गिकरण नभएको पाइए जरिवाना तिराउने मेयर बालेन्द्र शाहले चेतावनी दिएका छन् । यसमा प्रवक्ता मानन्धरको फरक मत छ। उनले फोहोरको बर्गिकरण नगरेमा जरिवाना तिराउँछौँ भन्नु गलत रहेको बताए । फोहर ब्यवस्थापनको सवालमा महानगरवासी नै सचेत रहनुपर्ने बताउँदै जरिवाना तिराएर समस्याको समाधान नहुने उनको भनाई छ।

वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका मानन्धरले फोहर बर्गिकरण भए पनि नभएपनि उठाउने दायित्व महानगर र मातहतका कम्पनीको भएको बताए। उनले भने ‘जनताले फोहोरको पैसा तिरिरहेका छन् । बर्गिकरण नगर्नेलाई जरिवाना तिराउछौ्रँ भन्नुले समस्या झन् बल्झन्छ । महानगरले फोहर उठाउनै पर्दछ। तर,यसमा नागरिकको साथ भने चाहिन्छ। जनताले इमान्दार भएर फोहर बर्गिकरण गरेमा कुनै समस्या हुँदैन , फोहोर समयमा उठ्छ ।’ घर या सडकमा जहाँ जम्मा भएको भए पनि पमहानगरले फोहर उठाउने उनले बताए।

यसअघि महानगर र सहरी विकास मन्त्रालयसंग भएका सहमति पालना नगरेको भन्दै बंचरेडाँडा र सिसडोलबासीले भदौ १ गतेदेखि फोहर डम्पिङ गर्न नदिने चेतावनी दिइसकेका छन्। यसप्रति इंगित गर्दै मानन्धरले भने ‘नयाँ नयाँ मागहरु थप्ने उहाँहरुको नियत बुझिएन। अहिले हामीसंग यो भएन भनेर कोही पनि महानगरमा आएको छैन। फोहरमा उहाँहरुको राजनीति बुझ्न सकिएन। समस्या के हो? महानगरमा आएर राख्न अनुरोध छ।’

काठमाण्डौँको फोहर ब्वस्थापनको विषय संघ र प्रदेश सरकारको पनि रहेकाले नुवाकोट, धादिङ, रसुवा लगायतका जनप्रतिनिधिले पनि चासो दिनु पर्ने उनको भनाई छ। स्वतन्त्र मेयर बालेन पढेलेखेका र काम गर्ने शैली पनि राम्रो भएको उनले बताए। उनले भने उहाँ पढेलेखेको हुनुहुन्छ। हामीमा केही पनि विवाद छैन। काँग्रेस, एमाले, समाजवादी भएर चुनाव लडे पछि अब जनप्रतिनिधि भयौँ। उहाँसंग सहकार्य भइरहेको छ । आगामी दिनमा धेरै राम्रो गर्ने गरी बजेट बनाएका छौँ। अब फोहर ब्यवस्थापनको विषय पनि जटिल बन्दैन।


प्रतिक्रिया दिनुहोस्